यात्राभरी बिहान ५ बजे उठ्ने र कम्तीमा आधा घण्टा प्रणायाम गर्ने नियम बनाएका थियौं। उचाइ बढ्दै जाँदा शरीरमा अक्सिजनको कमी हुने गर्दछ। यसको लागि फोक्सोको व्यायाम गर्नु जरूरी छ।
त्रिभुवन विमानस्थलको दौडधुप, मानसिक दबाब अनि लुक्लाबाट टोकटोकको चार घन्टाको पैदल यात्राले शारीरिक र मानसिक रूपमा थकित थियौं। राती टोकटोकमा सुतेका हामी एकै निद्रामा बिहान ५ बजेको मोबाइलको अलरामले ब्युँझियौं।
शौच तथा शारीरिक सरसफाइपछि प्राणायामका लागि बस्यौं। फोक्सो र मुटुको चाललाई सहज र सकृय गराउनको लागि भ्रामरी, कपालभाती र अनुलोम विलोम १०-१० मिनेट मोबाइलको सहयोगमा पूरा भयो।
बिहानको ६ बजे दिपा बहिनीले खाजाको बारेमा सोध्नुभयो।
मैले ‘बहिनी हाम्रो त ६ बजे बिहानै खाजा खाने बानी छैन’, भनेँ।
मेरो कुरा नसकिँदै ‘होइन भाइ हिँड्नु पर्ने हुँदा केही त खानु राम्रो हुन्छ। तपाईहरूले लन्च जोरसल्लेमा नै गर्नुहुन्छ होला। त्यहाँ पुग्न झण्डै तीन घन्टा लाग्न सक्छ।’ दिपा बहिनीले हामीलाई सम्झाउँदै हुनुहुन्थ्यो।
उहाँले चम्पा र चौरीको नौनीलाई तातो पानीमा घोलेर खाने स्थानीय खाजा एकएक बटुका बनाइसक्नु भएको रहेछ। बाटोमा खाजा खानको लागि दुईदुई वटा उमालेको अण्डा पनि तयार गर्नुभएको रहेछ। तातो पानी त अनिवार्य औषधी जस्तै भइहाल्यो।
दिपा बहिनीले झण्डै एक किलो जति चम्पा पनि दिनुभयो। बाटोमा भोक लाग्दा तातो पानीमा घोलेर जुनसुकै समयमा पनि खान सकिने उहाँको सुझाव थियो। अत्यन्त आडिलो, भिटामिनयुक्त चम्पा खाँदा लेक समेत नलाग्ने दिपा बहिनीले बताइन्।
दिपा र शसिकला बहिनीसँग नचाहेर पनि बिहान ८ बजे बिदा भयौं। हामी मगर किचेन खुम्बु घर र उहाँहरू हाम्रो परिवार बनेकोमा अत्यन्त खुसी थियौं।
बेस क्याम्पबाट फर्कँदा भेट्ने वाचा गर्यौं। यो भेट र मित्रतालाई जुनीजुनी मन र मस्तिष्कमा कैद गर्दै दिउँसो तीन बजे नाम्चे पुग्ने लक्ष्यका साथ अगाडि बढ्यौं।
मिसन सगरमाथा बेस क्याम्प–१: जब लुक्ला जाने जहाज छुट्यो!
नाम्चेको उकालो एभरेष्ट बेस क्याम्पको यात्रा मध्येको कठिन उकालो भएको दिपा बहिनीले भन्नुभएको थियो। यो हाम्रो यात्राको दोश्रो दिन थियो।
टोकटोकबाट नाम्चे ८-५ किलोमिटरको दुरीमा पर्छ। स्थानीय बासिन्दाहरूको लागि जम्माजम्मी २-३ घन्टाको मात्र यात्रा भएको सुनेका थियौं।
पहिलो दिन लुक्लाबाट टोकटोक ४ घन्टामा १० किलोमिटर छिचोलेका थियौं। त्यही भएर मातृका जीले-नाम्चे पुग्न ४ घन्टा भन्दा लाग्दैँन भन्दै हुनुहुन्थ्यो।
तर मलाई त्यस्तो लागेको थिएन। उचाइ बढ्दै जाँदा शरीरमा अक्सिजन पनि कम हुँदै जाँदा अप्ठ्यारो हुन्थ्यो र सोचेँ जस्तो हिँड्न नसकिने मेरो अनुभव थियो।
नाम्चे बजार लेक लाग्ने व्यक्तिको लागि पहिलो परीक्षण हो। कुनै न कुनै रूपमा नाम्चेको उचाइमा लेक लागेको संकेत दिन सक्ने भएकाले होसियार हुनु जरूरी थियो।
नाम्चेमा लेक लाग्ने कुनै संकेत देखिएन भने झण्डै ९० प्रतिशत पदयात्रीहरूलाई लेक लाग्ने सम्भावना कम हुन्छ। त्यसैले पनि यो यात्रालाई आनन्दमयी बनाउन जरूरत थियो।
हामीले खुम्बु क्षेत्रका धेरै ठाँउमा चौरी खर्क लेखेको भेट्यौं। खुम्बुका प्रायः गाँउहरूमा पहिले चौरी पालन मुख्य पेशा थियो। तर अहिले पनि चौरी पालन गर्नेहरू छन्।
बिस्तारै पदमार्गको कारण पर्यटकहरूको आगमन, हिमाल चढ्नेहरूको धुइरोले गर्दा परम्परागत पेशा चौरी पालन बिस्तारै विस्तापित हुँदै गएको छ।
चौरी पालनभन्दा पदयात्रामा भरिया, शेर्पा, गाइड हुने, पदमार्गहरूमा व्यपार व्यवसाय गर्ने, विदेशमा कामको लागि जाने अहिले खुम्बुबासीहरूको मुख्य पेशा भएको छ।
‘कुइरे पाल्ने ठाउँ भन्नु न भाइ’
चौरी, बाख्रा पालनभन्दा बढि आम्दानी यही पेशाबाट भएको अनुमान लगाउन सकिन्छ। यस पदमार्गमा घर जग्गा भएकाहरू घरभाडामा दिएर काठमाडौंमा आरमसँग बस्ने गर्दा पनि रहेछन्।
त्यही भएर चौरी गोठहरू घट्दैछन् भने खर्कहरू बिस्तारै मासिँदै गएको छ।
यात्रामा पहिलो रात बसेको ठाउँ टोकटोकलाई चौरीखर्क पनि भनिँदो रहेछ। मैले मगर किचेनको संचालिका दिपालाई चौरी गोठ र खर्कहरू कहाँ छन् र कति टाढा छन् भनेर सोधेँ।
उनले खर्कहरू मासिँदै गएको बताइन्।
‘चौरी खार्क भेट्न केही घन्टा हिँड्नै पर्छ भाइ’ दिपाको भनाइ थियो।
टोकटोकपछि बंकर, मोन्जो, जोरसल्य गाँउहरू प्रख्यात रहेछन्। सानोसानो गाउँबस्ती, सानातिना पसल, खाजा खाने ठाउँहरू एक आधा घन्टाको यात्रामा प्रशस्त भेटिँदो रहेछ।
सगरमाथा बेस क्याम्पको पदयात्रीहरूको फाक्दिङ पहिलो स्टेसन हो, दोश्रो स्टेसन नाम्चे बजार। उचाइको असर शरीरमा नपर्न दिनमा ५-६ घन्टा भन्दा बढी हिँड्न हुँदैन।
हामीले यात्राको क्रममा मोन्जो गाउँमा बाटोमा काठमाडौंको सहरमा राखेको टेलिफोनको जस्तै बक्स धेरै देख्यौं। हामीलाई यसबारेमा कौतुहलता लागि रहेको थियो।
मैले मोन्जोमा दुइटा गाँजर किनेँ। एउटा गाँजरको मूल्य १०० रुपैयाँ थियो। एक दाना स्याउको २०० रुपैयाँ थियो। गाँजर किन्ने क्रममा बाटोमा राखिएको बक्सको बारे साहुजीलाई सोधेँ।
मोन्जोमा खानेपानी, ढल र अग्नी नियन्त्रणको लागि एकीकृत परियोजना विकास गरिएको रहेछ। त्यो बक्स अग्नी नियन्त्रणको लागि राखेको रहेछ।
गाउँमा आगो लाग्दा निभाउनको लागि झण्डै ५० मिटरको दुरीमा मोन्जो गाँउको बाटा र बस्तिहरूमा उक्त बक्स जडान गरीएको रहेछ।
यो परियोजनामार्फत घरघरमा खानेपानी पुगेको रहेछ। खानेपानीको धाराबाट झरेको, लुगा धोएको पानीलाई पनि निकाससहितको व्यवस्थित खानेपानीको व्यवस्थान गरीएको रहेछ।
खानेपानीसँगै खानेपानी प्रयोग हुदाँ निस्कने दूषित पानीको उचित व्यवस्थापन हुने यो परियोजनाको छुट्टै महत्वपूर्ण पक्ष थियो। मैले यो प्रविधा अन्य ठाउँमा देखेको थिएन।
हाम्रो देशमा राम्रा कुराहरू न प्रचारमा आउँछन न त तिनको नक्कल नै गरीन्छ। गाउँ विकासमा उदाहरणीय खुम्बु क्षेत्रको यस्ता धेरै प्रयोगहरूलाई प्रचारप्रसार गर्न जरूरत छ। अनुसरण गर्न आवश्यक पनि छ।
यहाँको सरसफाइले आश्चर्यचकित बनाएको थियो। लुक्लाको यात्रादेखि नै हामी यहाँको सरसफाइ देखेर अत्यन्त प्रभावित भएका थियौं।
मिसन सगरमाथा बेस क्याम्प–३: दिदी उवाको सातु पाइन्छ?
हामीले यो विषयमा कुनै तर्कविर्तक गरेनौं। किनकि हामीलाई लाग्यो, सायद यो सरसफाइ पनि नेपालीको लागि गरेको होइन कुइरेका लागि गरेको होला।
यहाँ विदेशी आउने र उनीहरूले फोहोर मन नपराउने भएर पो पदमार्ग क्षेत्र सफा राखिएको हो कि भन्ने कुरा भयो।
‘साँच्चै खुम्बुका पदमार्गभन्दा बाहिरका गाउँहरू पनि यस्तै सफा छन होला त!’ मातृका जीको प्रश्नको जवाफ दिन सकिनँ।
प्रत्येक पसल, रेष्टुरेण्ट तथा पदमार्गको बाटाहरूमा फोहोर फाल्नको लागि ठाउँ ठाउँमा डस्टविनहरू राखिएको थियो। बाटाहरू पूर्णरूपमा सफा थिए।
बाटोमा भेटिने खच्चड र याकका गोबरबाट आएको गन्धलाई भने व्यवस्थापन गरिएको थिएन। हामीले उक्तबारे लुक्ला र नाम्चेको केही समाजसेवी, होटेल व्यवसायीहरूसँग समेत कुरा गरेका थियौं।
उहाँहरूले यसको लागि मानिस र खच्चडका लागि पदमार्ग छुट्याउने प्रयास भइरहेको भन्नुभयो। केही भागहरूमा पदयात्रीका लागि मात्रै भनेर बाटो छुट्याइको पनि रहेछ।
यात्राको दोस्रो दिनको सबैभन्दा आकर्षण स्थान हिलारी पुल थियो।
पहाडको बाटो अति नै डरलाग्दो थियो। दुईतिर भिरको बाटो थियो। डरलाग्दो खाडल र पहिरो। दुई भिरलाई हिलारी पुलले जोडेको थियो। हिलारी पुलको शुरूआतमा ‘सगरमाथा राष्ट्रिय निकुञ्जमा यहाँहरूलाई स्वागत छ’ भन्ने बोर्ड राखिएको थियो।
यसरी विश्वकै सबभन्दा अग्लो हिमालको नामबाट नामाकरण गरिएको यो निकुञ्ज विश्व सम्पदा सूचीमा समेत सूचिकृत छ।
नाम्चेको उकालो लाग्नुअघि दूधकोशीको किनारमा नजिकै दुई तले पुलको पुछारलाई मैले नाम्चेको पिध नाम दिए। यो दुई तल्ले पुललाई भने हिलारी पुल समेत भनिँदो रहेछ।
यो भिरको डरलाग्दो उकालो छिचोलेपछि नाम्चे बजार पुगिन्छ। हिलारी पुल पुग्नुभन्दा पहिले केही ठाउँमा मानिस हिँड्ने बाटो र खच्चड तथा चौरी हिँड्ने बाटो फरक बनाइएको रहेछ।
ती भागहरू भने खच्चडको गोबर मुक्त थियो। हिलारी पुलसँगै हामीले खच्चडको गोबरको गन्ध समेत आत्मासाथ गर्यौं।
जब हामीले नाम्चेको पिँधबाट दुई तले पुल देख्यौं। तल एउटा थियो, माथि अर्को। एउटा पुल तरेर फेरि अर्को पुल तर्न पर्ने होला भनी लागेको थियो। तर पनि निरन्तर हिँडिरहेका थियौं।
विदेशीहरूलाई गाइड गरिरहेका भाइ नाम्चेको पिँधमा थकाई मारिरहेका थिए। उनलाई नाम्चेको ठाडो उकालो चढ्नुअघि दुई तले पुलबारे सोधेँ।
‘तल्लो पुल पुरानो भएको र बाटो पनि अप्ठ्यारो भएपछि माथिल्लो पुल बनाएको हो। हिजोआज तल्लो पुलको प्रयोग गरिन्न दाजु’ उनले हाम्रो कौतुहलता मेटाइदिए।
दुई तला जस्तो देखिने पुलले यो ठाँउको सुन्दरता र महत्व झनै थपिदिएको थियो।
‘मनोज जी यो पुलमुनि हजारौं टोपी होला है’ पुलको बिचमा पुग्न नपाउँदै पुल नै चुडाउने गरी बगेको हावाले हल्लिएको पुलमा आफ्नो टोपी सम्हाल्न सकेकोमा गर्व गदै हुनुहुन्थ्यो साथी मातृका।
हावा पनि यस्तो थियो कि पुल नै उडाउँला जस्तो। मैले पनि झण्डै झण्डै टोपी जोगाउन सकेँ।
पुल बौद्ध प्रार्थना झण्डाले भरिएको र हावाले रंगीचगी झण्डाहरूलाई हल्लाउँदा मनमोहक दृश्य देखिन्थ्यो। पुलमुनी हेर्दा कहाली लाग्थ्यो। त्यसमा पनि हावाले पुल हल्लाउँदा सबै यात्रीहरू पुल पार गर्दा डराएको देखिन्थे।
यो उकालो पार गर्न हामीलाई तीन घन्टा लाग्यो। धेरै भिर, ठाडो उकालो अनि खच्चडले बिगारेको बाटो उकालो चढ्न एकदमै कठिन थियो।
उकालोको बिचबाटोमा भने दुई-चार जना भाइबहिनीहरू बाटोमा पसल थापेर बसेका रहेछन्। नाम्चेको यो लामो उकालोमा अन्य कहि कतै होटल, रेष्टुरेण्ट, पसल नपाउने भएर बाटोमा पसल राखिएको होला भन्ने अनुमान लगाएँ।
नाम्चे छिर्नुअघि चेकपोष्ट रहेछ। विदेशीहरूले पैदलयात्राको लागि स्वीकृती लिए नलिएको चेक गर्ने र अनुमतीको आधारमा प्रवेशको लागि स्वीकृती दिने रहेछ। विदेशी पदयात्रीको तथ्यांक समेत राखिने रहेछ।
हुन त मोन्जोमा पनि चेकपोष्ट थियो। विदेशीहरूले मोन्जोमा पनि विवरण टिपाउनु पर्नेरहेछ।
चेकपोष्टबाट ३० मिनेटमा नाम्चे बजारको गेटमा पुगियो। मनमोहक रूपमा बनाइएको नाम्चेबजारको गेट, गेटभित्र राखिएको माने र माने वरीपरी कुँदेका तस्बिरहरूको सुन्दरताले नाम्चेको त्यो उकालोको थकाई स्वतः स्फूर्तिमा परिवर्तन भयो।
नाम्चेबाजार र यसको सुन्दरताको बारेमा स्कुल देखि नै पढेको थिए। मेरो जीवनको यात्राको सूचीमा महत्वपूर्ण ठाउँमा पुग्न पाएकोमा म एकदमै हर्षित थिएँ। हामी दुवै माने घुमाउँदै तीन बजे नाम्चेबाजारभित्र छिर्यौं अनि सेल्फी र फोटोमा व्यस्त भयौं।
क्रमशः
(मनोजकुमार कँडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)