एउटा परिवारका दिदीबहिनी छात्राको कुरा गरौँ। बहिनी छात्रा ‘क’ लाई एउटा प्रश्न सोद्धा बोल्न मान्दै मानिनन्। दिदी छात्रा ‘ख’ दुई वर्ष जेठी छिन्। ‘ख’ ले ‘क’ लाई निकै सम्झाइन् तर बोलिनन्। ‘ख’ का अनुसार ‘क’ अपरिचित मानिससँग बोल्दिनन्। जति नै प्रयास गरे पनि बोल्दिनन्।
‘क’ एघार वर्षकी भइन्। चिनेकै मानिससँग पनि खुलेर कुरा गर्दिनन्, एक दुई शब्दमा जवाफ दिन्छिन्। ‘ख’ का अनुसार ‘क’ स्कुल जान पनि उति मन गर्दिनन्। सबै जसो विषयमा अनुत्तीर्ण हुन्छिन्।
यो बनावटी कुरा होइन। नाम लेख्न उचित नठानेर संकेत प्रयोग गरिएको हो। कुरा हो दाङ जिल्लाको तुलसीपुर उपनगरपालिकास्थित एक सरकारी विद्यालयको। ‘क’ पाँच कक्षामा पढ्छिन्।
‘क’ लाई मैले तिमीलाई विद्यालयमा सबैभन्दा मन पर्ने कुरा के हो भनेर सोधेँ। उनी बोलिनन्। भुइँमा हेरिरहिन्। उनी मलाई पुलक्क हेर्थिन् र फेरि भुइँ हेरेर टोलाउँथिन्।
मैले ‘क’ लाई स्कुल जान मन नलाग्नुको कारण सोधेँ। ‘ख’ ले जवाफ दिइन्, ‘पढ्न नजानेको भनेर शिक्षकले हेप्छन्, कुट्छन्। कक्षामा ‘क’ का साथी पनि छैनन्।’
‘क’ र ‘ख’ की आमा छैनन्। आमाले घर छाड्दा ‘क’ दुई वर्षकी थिइन्, ‘ख’ चार वर्षकी। दुवै जना हजुरबुबाआमासँग बस्छन्। बुबा काठमाडौँको कुनै सब्जीमन्डीमा काम गर्छन्।
‘ख’ बहिनीलाई काम लगाउँदिनन्। सकेसम्म आफैँ गर्छिन्। बहिनीले राम्ररी पढोस् भन्ने उनको ध्येय छ।
दिदीले सहयोग गरे पनि बहिनीको पढाइ निकै कमजोर छ। पाँच महिनाअघि ‘क’ पढ्ने स्कुलले एउटा गैरसरकारी संस्थासँग मिलेर उपचारात्मक शिक्षण विधिले पढायो।
नेपाली र गणितमा अत्यन्तै कम शैक्षिक उपलब्धि भएका तीन कक्षादेखि पाँच कक्षासम्ममा १५ जना विद्यार्थीलाई स्कुल समयपछि दैनिक दुई घण्टाका दरले ९० दिन उपचारात्मक शिक्षण गरियो।
उक्त गैरसरकारी संस्थाले तुलसीपुरकी एक युवालाई १२ दिन तालिम दिएर उपचारात्मक शिक्षणमा खटायो।
ती युवा शिक्षकले ‘क’ र उनका १४ जना साथीहरूलाई उपचारात्मक शिक्षण गरिन्। उनका अनुसार उनीसँग छात्रा ‘क’ राम्ररी बोल्छिन्। स्कुलका शिक्षक र साथीहरूसँग नबोल्ने ती छात्रा उपचारात्मक शिक्षकसँग मनका कुरा भन्न थालिन्।
मैले ती शिक्षकलाई सोधे, ‘तपाईंले त्यस्तो के गर्नुभयो जसबाट छात्रा ‘क’ लाई तपाईंसँग सजिलो भयो?’
उनका अनुसार उनले ‘क’ लाई सम्मानको व्यवहार गरिन्। उनलाई कक्षामा बोल्न प्रोत्साहिन गरिन्। साथीहरूले नहेपून् भनेर सतर्क भइन्। बिस्तारै ‘क’ थोरथोरै बोल्न थालिन्।
ती उपचारात्मक शिक्षकले छात्रा ‘क’ को शैक्षिक स्तर पहिचान गरेर उनका लागि अलग्गै पाठयोजना तयार गरिन्। ‘क’ का लागि मात्रै होइन, सबै विद्यार्थीका लागि तिनको क्षमता अनुसार पाठ योजना बनाइन्।
उनको प्रयासबाट सबै विद्यार्थीमा नेपाली भाषा र गणितका केही सिपहरू विकास भए। ‘क’ ले पनि धेरै कुरा सिकिन्।
नब्बे दिनको उपचारात्मक शिक्षण सहयोगअनुसार छात्रा ‘क’ अहिले नेपाली भाषाका साधारण वाक्य पढ्न सक्छिन्। गणितमा साधारण भाग गर्न सक्छिन्।
पाठ्यक्रमको कक्षागत सक्षमता अपेक्षाअनुसार छात्रा ‘क’ को भाषाज्ञानको सक्षमता न्यून छ। भाषा सक्षमता कम हुनाले गणितमा पनि सक्षमता कम छ।
पाठ्यक्रमको उद्देश्यअनुसार पाँच कक्षाको विद्यार्थीले जोड, घटाउ, गुणन र भाग समावेश भएका दैनिक जीवनका गणितीय समस्या समाधान गर्न सक्नु पर्छ।
छात्रा ‘क’ निःशेष भाग जाने दुई अंकको संख्यालाई एक अंकको संख्याले भाग गर्न सक्छिन्। उनी पाँच कक्षाकी विद्यार्थी हुन् तर उनको सक्षमता कक्षा तीन बराबरमात्रै छ।
तुलसीपुरका धेरै विद्यार्थीको सिकाइस्तर छात्रा ‘क’ कै जस्तो छ भन्ने कुरा ‘तुलसीपुर स्टाटस अफ एजुकेशन रिपोर्ट, २०७६’ ले प्रष्ट पार्छ। तुलसीपुर उपमहानगरले एक गैरसरकारी संस्थासँगको सहकार्यमा गरेको उक्त रिपोर्ट तयार पारेको हो।
उक्त रिपार्टले तुलसीपुर उपमहानगरमा विद्यार्थीहरूको सिकाइस्तर निराशाजनक रहेको देखाउँछ। कक्षा आठका विद्यार्थीहरूमा कक्षा तीनसम्मको मात्र आधारभूत साक्षरता रहेको पाइयो।
गणितमा विद्यार्थीहरू धेरै कमजोर देखिए। अंग्रेजीमा पनि धेरै विद्यार्थीहरू कमजोर फेला परे।
छात्रा ‘क’ को कक्षागत सक्षमता नहुनु समस्या हो, उनलाई स्कुल जान मन नलाग्नु विकराल समस्या हो। उनको क्षमतासँग स्कुलले, शिक्षकले र समुदायले उनीसँग गर्ने व्यवहारको गहिरो साइनो हुन्छ।
छात्रा ‘क’ लाई स्कुल जान मन नलाग्नुमा स्कुलमा उनीप्रति हुने बेवास्ता एउटा कारण हुन सक्छ। उनलाई अझै केही गहिराइमा बुझौँ।
छात्रा ‘क’ को थर विक अर्थात विश्वकर्मा हो। उनको परिस्थिति विशिष्ट छ, आवश्यकताहरू विशिष्ट छन्।
उनी आफ्ना बाबुआमाबाट अलग छिन्। उनको प्रतिनिधित्व गर्ने जातीय समुदायको सामाजिक र आर्थिक हैसियत निकै कमजोर छ। उनका अनुभवहरू सामान्यभन्दा फरक छन्।
यस्तो अवस्थामा उनको स्कुलले कठिन अवस्थामा रहेका आफ्ना विद्यार्थीहरूलाई आवश्यक सहयोग पुर्याउनु पर्ने हो। स्कलले आफ्ना शिक्षकलाई छात्रा ‘क’ जस्ता विद्यार्थीलाई सहयोग गर्न सक्षम बनाउनुपर्ने हो।
छात्रा ‘ख’ का अनुसार उनकी बहिनी छात्रा ‘क’ का शिक्षक लट्ठी बोकेर कक्षामा पस्छन्। पढ्न नजानेको भनेर कहिलेकाहीँ शिक्षकले ‘क’ लाई कुट्छन् पनि। गाली पनि गर्छन्। ‘क’ यस्ता शिक्षकलाई छल्न चाहन्छिन् र स्कुल अनुपस्थित हुन्छिन्।
न्यायको सिद्धान्तअनुरूप शिक्षामा विद्यार्थीसँग कसरी व्यवहार गर्ने, विद्यार्थीहरूलाई के नभन्ने, उनीहरूलाई के नगर्ने इत्यादि कुरा शिक्षकहरूलाई सिकाउन राज्य चुकेको छ। बिएड, एमएड पढेर आएका शिक्षकले सामाजिक न्यायसहितको शिक्षण कसरी गर्ने भनेर विश्वविद्यालयमा पढेका हुँदैनन्।
उदाहरणका लागि, दलित वर्गको शैक्षिक उपलब्धि कम छ भनेर सबै दस्ताबेजमा लेखिएको हुन्छ तर के गर्दा शैक्षिक उपलब्धि सुधार गर्न सकिन्छ भनेर लेखिएको हुँदैन।
राज्यले कमजोर आर्थिक, सामाजिक अवस्था भएका र अत्यन्तै कमजोर शैक्षिक नतिजा ल्याउने गरेका दलित वर्गका विद्यार्थीको शिक्षा सुधारका लागि केही पनि सोचेको छैन। यसरी शिक्षकहरू पनि तयार गरेको छैन।
अमेरिकी विद्वान जेनेभा गेले अल्पसंख्यक वा ऐतिहासिक रूपमा अत्यन्तै कमजोर शैक्षिक नतिजा ल्याउने समुदायका विद्यार्थीहरूको सिकाइस्तर बढाउन पाँच तरिका सुझाएकी छन्-
(क) शिक्षकले विद्यार्थीहरूको संस्कृतिबारे गहन जानकारी राख्ने
(ख) विद्यार्थीको संस्कृतिअनुरूपको पाठ्यसामग्री तयार गर्ने
(ग) विद्यार्थी–विद्यार्थी अन्तरसांस्कृतिक संवादमा महत्व दिने
(घ) शिक्षकले विद्यार्थीको पूर्वज्ञान र संस्कृतिप्रति आदारभाव राख्ने र सोहीअनुसार पढ्ने र सिक्ने समुदाय बनाउने
(ङ) कक्षा शिक्षणमा विद्यार्थीको सांस्कृतिक प्रभाव अनुकूल हुने गरी अध्यापन गर्ने।
जेनेभा गे र गोरिया ल्याडसम बिलिङजस्ता अनुसन्धाताहरूले अमेरिकी समाजमा काला जातिका विद्यार्थीहरूको शैक्षिक अवस्था सुधार्न आवश्यक शैक्षणिक रणनीतिहरूबारे लेख्दै आएका छन्। उनीहरूका अनुसार काला जातिका विद्यार्थीहरूको शैक्षिक उपलब्धि ऐतिहासिक रूपमै गोराभन्दा कम रहँदै आएको छ।
मेरो विचारमा जेनेभा गेले प्रतिपादन गरेको शैक्षणिक तरिका नेपालका अल्पसंख्यक विद्यार्थी वा ऐतिहासिकरूपले शिक्षामा उपलब्धि हासिल गर्न नसकेको वर्गका लागि सहयोगी हुन सक्छ।
जेनेभा गेको सिद्धान्तको केन्द्रमा शिक्षकले विद्यार्थीको अनुभव, भाषा र संस्कृतिको सम्मान गर्नुपर्छ। शैक्षिक वातावरण विद्यार्थीको सम्मान गरेको हुनुपर्छ।
हाम्रा विद्यालयहरू विद्यार्थीको संस्कृतिप्रति कति उदासीन छन् भन्ने कुरा तुलसीपुरमा प्रस्ट देखियो।
एउटा निजी स्कुलको भ्रमणमा जाँदा त्यहाँका प्रधानाध्यापकले आफ्नो कुल विद्यार्थी संख्याको ३० देखि ४० थारू समुदायका रहेको बताए। उनलाई विद्यार्थी संख्याको एकिन जानकारी भने थिएन।
उनले थारू समुदायका विद्यार्थीहरू तुलनात्मकरूपमा कमजोर रहेको र स्कुलमा धेरै अनुपस्थित हुने गरेको पनि बताए।
स्कुल प्रांगण र कक्षा कोठाहरू अवलोकन गरेपछि मैले प्रधानाध्यापकलाई सोधेँ– यस विद्यालयमा थारू समुदायका विद्यार्थीलाई आफ्नो सिकाइ, अनुभव वा संस्कृतिअनुसार पढाउने शिक्षकहरू हुनुहुन्छ? थारूको परम्परा, संस्कृति झल्काउने सामग्रीहरू छन्?
प्रधानाध्यापकले उत्तर दिए– मैले तपाईंको आशय बुझेँ तर त्यस्तो छैन।
उक्त स्कुलमा जेनेभा गेले भनेजस्तो विद्यार्थीको सांस्कृतिक प्रभावअनुकूल शिक्षण गर्ने शिक्षक छैनन्। प्रधानाध्यापकलाई आफ्नो स्कुलको जनसाङ्ख्यिकी विवरण पनि प्रस्ट थिएन।
आफ्ना विद्यार्थीहरूको सामान्य पृष्ठभूमि जानकारी नहुने शिक्षकले विद्यार्थीको आवश्यकताअनुसार शिक्षण गर्न सक्ने कुरै भएन।
तुलसीपुर उपमहानगरको शिक्षा शाखाका एक अधिकृतका अनुसार छात्रा ‘क’ र उनीजस्ता हजारौँ विद्यार्थीका बारेमा पनि उनीहरूका शिक्षकहरूलाई राम्रो जानकारी छैन। विद्यार्थीको पारिवारिक र सामुदायिक पृष्ठभूमिबारे शिक्षकले छलफल पनि गर्दैनन्।
पाठ्यपुस्तकमा त्यस क्षेत्रको समाजको अनुभव वा संस्कृतिसम्बन्धी पाठ्यसामग्री पनि छैन। तुलसीपुरका विद्यार्थीले स्कुलमा पढ्ने पाठ्यपुस्तकले आंशिकमात्र पनि तुलसीपुरको कथा भन्दैनन्।
छात्रा ‘क’ लाई पढाउने शिक्षकहरूलाई आफ्ना विद्यार्थीको सांस्कृतिक, भाषिक, आर्थिक, सामाजिक इत्यादि स्तर वा अवस्थाबारे राम्रो जानकारी लिएर छैन। यस्तो जानकारी लिएर पढाउनुपर्छ भन्ने साधारण चिन्तन पनि छैन।
विद्यार्थीको सांस्कृतिक, भाषिक अनुभव कक्षाका अन्य विद्यार्थीहरूसँग साटासाट गर्न सकिने विशिष्ट ज्ञान हो भन्ने कुरा शिक्षकहरूले वास्ता नै गर्दैनन्।
विद्यार्थीको संस्कृतिको सम्मान गर्दा उसले शिक्षण सिकाइमा आफ्नोपन भेट्छ र पढ्नुमा सार्थकता देख्छ भन्ने कुरामा पनि शिक्षक संवेदनशील हुन सकेका छैनन्।
नेपालको संविधानले सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजका निर्माण गर्ने संकल्प गरेको छ।
यस्तो संकल्पमा छात्रा ‘क’ लागि ‘समतामूलक’ शब्दले के अर्थ राख्छ होला!
कुनै एउटा गैरसरकारी संस्थाले छात्रा ‘क’ र उनीजस्ता थोरै विद्यार्थीलाई दिएको थोरै दिनको उपचारात्मक शिक्षणले सबैको समस्या समाधान हुँदैन।
संस्थागत रूपमा राज्य नै यस दिशामा अघि नबढ्ने हो भने नेपालमा ‘समतामूलक शिक्षा’ भन्नु केवल टुक्कामा सीमित रहने छ।