कथायेँ: प्रारम्भ
काठमाडौं ‘अमिबा’ जस्तै छ, समयक्रममा रूप फेरिरहन्छ।
पन्ध्र लाख वर्षअघिसम्म यो अहिलेजस्तो उपत्यका थिएन। घना जंगल थियो। कुनै मानव पुर्खा शिकार खेल्दै यहाँ आएका भए हात्तीसँग जम्काभेट भयो होला। त्यो हात्ती अहिलेजस्तो भीमकाय थिएन रे। हामी वा हाम्रा पुर्खाभन्दा अलिकति मात्र ठूलो थियो रे।
हामीले चिडियाखानामा देखेको जलगैंडा पनि हाम्रा पुर्खाले यहीँ बागमती नदीमा छप्ल्याङछुप्लुङ पानी खेल्दै गरेको भेटे होलान्।
बागमती किनार घाम ताप्दै गरेका डरलाग्दा गोही देखेर उनीहरू तर्से पनि होलान्।
यो मेरो हवाई कल्पना होइन। काठमाडौं उपत्यकाका विभिन्न भागमा यी जीवजन्तुका जीवावशेष (फोसिल) पाइएका छन्, जसले यो घनाबस्ती जंगली जनावरको घर थियो भन्ने प्रमाणित गर्छ।
भूगर्भविद्हरूले पत्ता लगाएअनुसार १५ लाख वर्षअघिबाट काठमाडौंको रूप फेरिने क्रम सुरू भयो, जब युरेसियन र इन्डियन प्लेटको घर्षणले दक्षिणतिर महाभारत पर्वतशृंखला अग्लिन थाल्यो।
त्यो बेला महाभारत र चुरे यति तीव्र गतिमा अग्लिँदै थियो, उत्तर–दक्षिण बग्ने धेरै नदीको बाटो थुनियो।
लाखौं लाख वर्षदेखि उत्तरबाट सलल दक्षिण बग्दै आएकी थिइन् त्रिशूली। धादिङको गल्छीमा महाभारत अग्लिएपछि उनी पश्चिम मोडिइन्। त्यहाँबाट घ्यालचोकमा भेटिन आउने बूढीगण्डकी समेतलाई लिएर पश्चिम हानिँदै गइन्।
त्रिशूलीले दक्षिण दिशा समात्न मुग्लिङसम्मकै बाटो तय गर्नुपर्छ। मुग्लिनमा मर्स्याङ्दीसँग मित लगाएपछि बल्ल उनी चितवन र तनहुँका दुई पहाडको गल्छेडोबाट दक्षिण बग्न पाउँछिन्।
सुनकोशीको यही दुर्दशा छ।
उनी आफ्नै तालमा ढल्किँदै, मस्किँदै उत्तरबाट झर्दै थिइन्। दुम्जामा बाटो छेकियो। त्यहाँबाट पूर्व मोडिइन् र लगातार बढ्दै गइन्। सुनसरीको चतरा पुगेपछि बल्ल उनले दक्षिण बग्ने बाटो पाइन्।
त्रिशूली र सुनकोशीको बहाव ठूलो र धार तीव्र थियो। महाभारत पर्वतले यिनलाई धेरै समय अलमल्याएर राख्न सकेन। दुवै केही समय ताल बनेर जमे होलान्, अनि पहाडको कमजोर कुना चिरेर आफ्नो बाटो आफैं खने होलान्।
बागमती भने दिदीहरूजत्तिको शक्तिशाली परिनन्। न उनको बहाव ठूलो, न धार तीव्र।
त्यसैले जब महाभारत पर्वतले बाटो थुन्यो, बागमती लामो समय थुनिएको थुनियै भइन्। पर्वत अग्लिएर कचौराजस्तो उपत्यका बनेको काठमाडौं खाल्डोमा उनी ताल बनेर जमिरहिन्।
तपाईंहरू यो स्टोरी ल्यापटपमा पढ्दै हुनुहुन्छ कि मोबाइल वा ट्याबमा?
मोबाइल वा ट्याबमा पढ्दै हुनुहुन्छ भने एकछिन अक्षर ठूलो पारेर स्क्रिन अलि पर राख्नुहोला।
अब दुवै हत्केला जोडेर अञ्जुली बनाउनुस्, र कल्पना गर्नुस्, अगाडिका दस औंला भर्खरै अग्लिएका महाभारत पर्वतशृंखला हुन्, जसले बागमतीको पानी थुनेर राखेको छ।
तपाईं आफ्नो अञ्जुलीमा पानी पनि तुर्काउँदै जानुस्, अनि हेर्नुस् के हुन्छ?
अञ्जुली पार्दा हातका मुटुरेखा, मस्तिष्करेखा र भाग्यरेखा जुन खाल्डोमा आएर गुजमुज्ज पर्छ, त्यही ठाउँमा पानी सबभन्दा पहिला भरिन्छ।
पानीको सतह बढ्दै गएपछि औंलाका कापबाट चुहिन थाल्छन्।
यही ढलपल पानीनाच हेर्दै आफ्नो कल्पनालाई १५ लाख वर्ष पछाडि लैजानुस् त!
जब बागमती थुनिएर काठमाडौं खाल्डो पानीले भरिँदै गयो, यहाँको घना जंगल त्यसैमा डुबेर विनाश हुन थाल्यो। जनावरको झुन्डमा अफरा-तफरी मच्चियो। चलाख जनावरहरू सुइँकुच्चा ठोके होलान्। लोसेहरू लाखापाखा लाग्न खोज्दाखोज्दै पानीमा डुबे होलान्। हामीले पाएका जीवावशेष तिनै डुबेका जनावरका त हुन्।
त्यति बेला शिकार खेल्दै यहाँ आइपुगेका हाम्रा पुर्खाको झुन्डमा पनि पानीको सागर देखेर भागाभाग भयो होला। उनीहरूले ज्यान जोगाउन सके कि सकेनन् कुन्नि! फिस्टे हात्ती, जलगैंडा र गोहीसँगै पानीमा डुबे कि! कुनै दिन हाम्रो पुर्खाको पनि जीवावशेष भेटियो भने यो रहस्य खुल्ला!
अहिले हामीलाई यति थाहा छ, बागमतीको बहाव रोक्ने त्यो पर्वतीय बाँध चर्किन वा फुट्न लाखौं लाख वर्ष लाग्यो। कम्तीमा १४ लाख ७० हजार वर्ष।
करिब ३० हजार वर्षअघिबाट काठमाडौं खाल्डोको पानी बगेर जाने प्रक्रिया सुरू भयो भन्ने वैज्ञानिक अध्ययनले देखाएको छ। यसमा दुईवटा भौगोलिक उथलपुथल जिम्मेवार हुनसक्छ।
पहिलो, जुन युरेसियन र इन्डियन प्लेटको घमासान घर्षणले दक्षिणतिर महाभारत पर्वत अग्लिएर काठमाडौं उपत्यका बन्यो र ताल जम्यो, त्यही प्लेटको निरन्तर घर्षणले यहाँ विभिन्न कालखण्डमा ठूल्ठूला भुइँचाला आए।
कप–प्लेटमा कफी खाइरहँदा कसैले प्लेट सरक्क सारिदियो भने के हुन्छ? सोच्नुस् त!
प्लेटको धक्काले कप हल्लिन्छ। कफी छचल्किन्छ। पूरै उल्टिन सक्छ, अलि अलि मात्र पोखिन पनि सक्छ।
हजारौं हजार वर्षसम्म भुइँचालो धक्का खाइरहँदा उपत्यका वरिपरिका डाँडामा पनि विस्तारै चिरा पर्न थाले। गल्छीहरू काटिए, जसले सांगा, पाटी (सुन्दरीजल), मुर्खु (ककनी), गोकर्ण, पशुपति, भीमढुंगा, फर्पिङ, नैकाप लगायत साना–ठूला भञ्ज्याङहरू बने। तिनै भञ्ज्याङबाट पानी निकास भयो भन्ने एकथरी भूगर्भविद्को राय छ।
दोस्रो, भुइँचालोले नै यति ठूला भञ्ज्याङ काट्यो होला भन्ने कतिपय भूगर्भविद् विश्वास गर्दैनन्। बरू पानीको धारले लामो समय धक्का दिँदै जाँदा त्यसैको बलले पहाड फोरेर गल्छीहरू बनेको उनीहरू तर्क गर्छन्।
यी दुवै सम्भावना सही हुनसक्छन्। लाखौं वर्ष अन्तरालमा जम्मा भएको पानी केही हजार वर्षमा पक्कै निख्रिएन। पूरै निख्रिन कम्तीमा २० हजार वर्ष लागेको आकलन छ। यस अवधिमा कतिपय गल्छी भुइँचालोले चिरे होलान्, कति पानीको धारले काटे होलान्।
काठमाडौं उपत्यकामा पानी जमेको थियो भन्नुको अर्थ तल नदीको सतहदेखि चन्द्रागिरि पहाडको टुप्पोसम्म लबालब भरिएको होइन। साना, ठूला, गहिरा, लाम्चा अनेकौं ताल बनेका हुन्, जुन विभिन्न समयमा आ–आफ्नै तरिकाले निकास भए।
तीमध्ये सबभन्दा लामो समय तालकै रूपमा रहेको भू–भाग अहिलेको काठमाडौं, पाटन र भक्तपुर क्षेत्रको बीचको गहिरो समथर हो।
काठमाडौं तालको यो अन्तिम अवशेष करिब १० हजार वर्षअघि चोभार गल्छीबाट निकास भयो, जसलाई वैज्ञानिक तथ्यले पुष्टि गर्छ।
कतिपय कुरा हामी किम्बदन्तीहरूबाट पनि बुझ्न सक्छौं।
मञ्जुश्रीले चोभार डाँडामा खड्ग प्रहार गरेर पानीको निकास खोलेपछि यो उपत्यका मानव बस्तीका लागि उपयुक्त भयो भन्ने काठमाडौं किम्बदन्ती छ।
किम्बदन्ती भनेको कथ्य र तथ्यको मिश्रण हो। वैज्ञानिक अनुसन्धानले सुल्झाउन नसकेको रहस्यको गाँठो किम्बदन्तीहरूमा लुकेको हुन्छ।
मञ्जुश्रीको खड्ग प्रहारलाई पनि हामी विभिन्न कालखण्डमा आएका भुइँचालासँग दाँज्न सक्छौं। उपत्यका वरपरका यत्रा डाँडामध्ये मञ्जुश्रीले चोभारमै खड्ग प्रहार किन गरे होलान्? गोकर्णमा किन गरेनन्? सांगामा किन गरेनन्? अनि के सुन्दरीजल र ककनीमा चाहिँ भञ्ज्याङ काट्न मञ्जुश्रीले खड्ग हान्नै परेन?
चोभार डाँडा खुलेपछि काठमाडौं खाल्डोको अन्तिम ताल पनि सुक्यो र उपत्यका बस्नयोग्य भयो भन्ने हाम्रो किम्बदन्तीले संकेत गरेको हो कि!
यो कथाको खुलासा के भने, ‘अमिबा’ जस्तो रूप फेरिरहन माहिर काठमाडौं १५ लाख वर्षअघिको घना जंगलबाट उपत्यका, उपत्यकाबाट ताल हुँदै तालको पानी सुकेर कम्तीमा १० हजार वर्षअघि मानवबस्तीका लागि योग्य भू–भागमा परिणत भयो।
यो काठमाडौं कथा र मानव इतिहासबीच एउटा रोचक संयोग छ।
जति बेला काठमाडौं उपत्यका बस्नयोग्य बन्दै थियो, त्यति नै बेला हाम्रा मानव पुर्खा भर्खर खेती गर्न सिक्दै थिए। उनीहरू लाखौं लाख वर्षदेखिको शिकारी युगबाट कृषि युगमा फड्को मार्दै थिए। जंगलका जंगल मासेर अन्न उमार्न खोज्दै थिए। गाई, भेडा, कुखुरा, भैंसीजस्ता दूध, अन्डा र मासुका लागि उपयोगी जनावर पालन गर्दै थिए। नदी किनारका खेतीयोग्य भू–भाग खोजेर स्थायी बस्ती बसाउँदै थिए। इजिप्टदेखि इरान र अमेरिकादेखि अफ्रिकासम्म खेतीपाती, पशुपालन र व्यवस्थित बसोबासको सुरूआत हुँदै थियो।
मानव विकासक्रमको यति महत्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ मा काठमाडौं उपत्यकाले पनि बसोबास खोजीमा भौंतारिरहेका कुनै मानव झुन्डलाई पक्कै आकर्षित गर्यो होला।
उनीहरू उत्तरतिरबाट झरेका हुन सक्छन्, वा दक्षिणबाट चढेका। वा, पूर्व वा पश्चिम।
जुनसुकै दिशाबाट छिरेका होऊन्, दस हजार वर्षअघि आएको त्यो मानव झुन्डलाई काठमाडौं उपत्यकाले बास दियो। खेतीयोग्य जमिन दियो, बाह्रै महिना कलकल बग्ने बागमती दियो।
उनीहरू यहीँ रमाए, यहीँका भए। बस्ती बसाले, संस्कृति जगाए, नयाँ राज्य बनाए।
रिले दौडको छडीजस्तो यो राज्य एकपछि अर्को शासकको हातमा सर्दै आयो। प्रत्येक शासकले नयाँ कला, नयाँ कौशल ल्याए, सीप र संस्कृति ल्याए, वास्तु र शैली ल्याए।
सबैको सम्मिश्रणले काठमाडौं सभ्यता बन्यो।
...
भर्खर सिसाकलम समाउन जानेकी सानी नानीले कागजमा गोलो चित्र बनाइन् भने काठमाडौं उपत्यकाजस्तै देखिएला। छेउछउमा भ्यागुताको जस्तो पुट्ट भुँडी निस्केको गोलाकार आकृति।
यो आकृति नेपालको नक्सामा एउटा सानो थोप्लो मात्र हो। कुनै बेला अन्तरिक्षबाट हेर्दा हरियो थोप्लो देखिन्थ्यो होला, जब यहाँ हरियाली थियो। अहिले त धूलोधुवाँको मुश्लोले ढाकेर कालो देखिएला।
छ सय वर्गकिलोमिटरको यो थोप्लोले पूरै देश भर्ने हो भने दुई सय पचासचोटि फोटोकपी गर्नुपर्छ। जबकि, एक थोप्लोमै नेपालका एकचौथाइ मानिस बसोबास गर्छन्।
म त्यसैमध्ये एक हुँ। मेरो जन्म काठमाडौंमा भएको होइन। हुर्केको चाहिँ भन्न मिल्ला, किनभने तीन कक्षाबाट सिद्धार्थ वनस्थलीमा पढ्न थालेदेखि मैले यो सहर छोडेको छैन।
आप्रवासी आँखा जिज्ञासु हुन्छन्। मैले पनि काठमाडौंलाई सधैं बाल कौतूहलको नजरले हेरेँ। मानौं, जाँचमा प्रश्न सोधिएको छ, जसको जवाफ मैले लेख्नुछ।
काठमाडौं गल्ली मलाई बाघचालको बाटोझैं लाग्छ — सोझो, ठाउँठाउँमा छड्के।
हरेक गल्लीको सिरान र पुछारमा चौबाटो चोक। कहीँ फराकिलो डबली, कहीँ सानो ननी।
हरेक गल्लीका दायाँ र बायाँ लहर मिलेका दाँतझैं एकनासे घरहरूले बनेको सलाइको बट्टाजस्तो झुरुप्प बस्ती। त्यही बस्तीभित्र कहीँ विशाल चैत्य, कहीँ भगवती, कहीँ नारायणको मन्दिर।
हरेक गल्लीका दायाँ र बायाँ समानान्तर अर्को गल्ली। फेरि अर्को, फेरि अर्को।
यस्तो लाग्छ, सिंगो काठमाडौं एउटा घर हो। गल्लीहरू घरभित्रका बाटा, जसले चिटिक्क परेका साना साना वर्गाकार कोठालाई आपसमा जोड्छन्।
काठमाडौंका यी गल्ली, चोक, डबली, चैत्य र मन्दिरहरू मलाई प्रिय लाग्छन्। हरेकचोटि यहाँका गल्लीहरूमा बरालिँदै हिँड्दा मलाई नयाँ नयाँ कुरा अन्वेषण गरेझैं लाग्छ।
कहिले कुनै गल्लीमा छिरेर कुनै डबलीमा फुत्त निस्कँदा मल्लकालीन घरसँग ठोक्किन पुग्छु, जहाँ सँझ्याः, तिकीझ्याः र कम्मरदेखि आधा ज्यान निहुर्याएर मात्र छिर्न सकिने काठका होचा ढोकाहरू उस्तै छन्।
कहीँ त्यस्ता घर आधा भत्काइएका पनि छन्। आधी सँझ्याः, आधी तिकीझ्याः र बाँकी आधामा इन्द्रजात्राको लिंगोजस्तै ठडिएको कंक्रिटको पिलरवाला सुरिलो घर।
अचेल यस्ता धेरै डबली मोटरसाइकल र गाडी पार्किङ गर्ने थलो बनिसके। तै राम्ररी आँखा डुलाउने हो भने लिच्छविकालदेखि काठमाडौंको घामपानी देखेर, भोगेर बसेका चैत्य र मूर्तिहरू भेटिन्छन्। हिँड्दा खुट्टा ठेस लाग्ने कुनै कुनै ढुंगामा त हजार, दुई हजार वर्ष पुरानो कालिगढी हुनसक्छ। होस पुर्याएर पाइला चाल्नु बेस!
तिनै डबलीमा उभिएर कुनै पुरानो घरको छिँढी छेँडेका साँघुरा गल्लीभित्र चियाउन नबिर्सनुस् है!
ती साँघुरा गल्लीले मलाई धेरैचोटि काठमाडौंका त्यस्ता ननी (भित्री चोक) हरूसम्म डोर्याएको छ, जसलाई आधुनिकताको कलेवरले छोएको छैन।
जहाँ आज पनि भुइँभरि धान सुकाएर कुरुवा बसेका बूढीआमैहरू भेटिन्छन्। फरियाले शरीरको अग्रभाग छोपेर नांगो ढाडमा तेल घसिरहेका सुत्केरीहरू देखिन्छन्। वयोवृद्धहरूको खासखुस र केटाकेटीको किलकारीले जहाँ पुरानो काठमाडौं जीवन्त छ। रैथाने मसलाको बासनासहित काठमाडौंका परिकारहरू पाक्ने साँघुरा भान्छा र भट्टीहरूले जहाँ मेरो आँत हरहरिएर आउँछ।
तपाईं पनि रैथाने स्वादको पारखी हुनुहुन्छ भने मुख्य सडकका झल्झलाकार रेस्टुरेन्ट होइन, ओसिला गल्लीभित्रका अँध्यारा भट्टीहरूको स्वाद चाख्नुहोला!
कहिलेकाहीँ त्यस्ता चोकमा नेवारी भोजसँग जम्काभेट भइदिन्छ। वरिपरि पाल टाँगेर वा नटाँगीकनै भुइँमा लस्करै बसेर ‘लप्टे भ्वेः’ खाइरहेको देख्नुभयो भने सरक्क फर्किनुहोला। छेउछेउबाट लुसुक्क बाटो लाग्नुभए पनि हुन्छ!
आफ्नै सूरमा यसरी बरालिँदै एउटा चोकबाट अर्को, अर्कोबाट अर्कोमा फड्किँदा मलाई आफूले नदेखेको, नजानेको र नबुझेको कुनै स्वर्णिम इतिहासको झझल्कोले आकर्षित गर्छ।
वर्तमानमा उभिएर पुरानो समृद्ध सभ्यतातिर फर्किएर हेरेझैं लाग्छ।
यो अनुभूति अझ अद्भूत भयो, जब मैले सम्पदाविद् तथा सहरी विकास योजनाकार सुदर्शनराज तिवारीबाट काठमाडौंको एउटा विशेषता थाहा पाएँ।
इञ्जिनियरिङ अध्ययन संस्थानका यी पूर्वडिनसँग म त्यस दिन लिच्छविकालीन काठमाडौंको राजधानी हाँडीगाउँबारे कुरा गर्दै थिएँ। गहनापोखरीबाट हाँडीगाउँका गल्ली–गल्ली छिचोल्दै सत्यनारायण मन्दिर पुगेर फेरि तिनै गल्लीबाट गहनापोखरी आउँदासम्म उनले मलाई लिच्छवि राजनीति, उनीहरूको सहरी संरचना र जात्रापर्वबारे विस्तार लगाए।
लिच्छविहरू भारतको वैशालीबाट लखेटिएर आएका हुन्। वैशाली विधि, व्यवस्था र वास्तुमा ‘अब्बल’ थियो। उनीहरूको राजधानी भारतको बिहार राज्यमा पटनानजिकै पर्छ। भारतले वैशालीलाई संसारकै ‘पहिलो गणराज्य’ का रूपमा प्रचार गर्दै आएको छ। हिन्दु वास्तुशास्त्रअनुसार नौ–खानाको वर्गाकार ज्यामितीय ढाँचामा बनेको यो नगर–राज्य चारैतिर पर्खालले घेरिएको थियो। नगर छिर्ने मुख्य–मुख्य नाकामा काठका ठूल्ठूला द्वार थिए। अहिले पनि यहाँ लिच्छविकालीन अवशेषहरू प्रशस्तै पाइन्छन्, जुन पर्यटकीय आकर्षण हुन्।
गौतम बुद्धको जीवनको अन्तिम वर्षतिर इसापूर्व ४८६ मा मगधका राजा अजातशत्रुले वैशालीमाथि आक्रमण गरे। ज्यान जोगाएर भागेका लिच्छविहरू भारतको पूर्वी भाग हुँदै मधेसको जंगल छिचोलेर काठमाडौं उक्ले।
काठमाडौं उपत्यकामा त्यो बेला किराँतहरूको शासन थियो। भारतबाट भागेर आएका लिच्छवि राजा र भारदारहरू सुरूका केही वर्ष किराँतकै पाहुना भएर चुपचाप बसे होलान्। गुप्तचरले झैं सहरका कुनाकाप्चा चहारे होलान्। किराँतहरूको सैन्यबल तौले होलान्। भित्रिया बनेर कमजोरीहरू भाँपे होलान्।
वैशालीजस्तो विशाल र समृद्ध साम्राज्यमा शासन गरेर आएकाहरू आखिर कति दिन राजपाठबाट टाढा रहन सक्थे? एकदिन मौका हेरेर किराँतसहित नेपाल अधिराज्यका विभिन्न ठाउँमा शासन गर्ने मल्ल, गोपाल लगायत सबैलाई लखेटेर आफ्नो एकछत्र राजनीतिक वर्चश्व कायम गरे र हाँडीगाउँलाई राजधानी बनाए। यो करिब इसापूर्व पहिलो शताब्दी वा इसाको पहिलो शताब्दीतिरको कुरा हो। लिच्छवि राजनीतिको विस्तृत म अर्को अध्यायमा चर्चा गर्नेछु।
हाँडीगाउँ आज पनि उही पुरानो लिच्छविकालीन स्वरुपमै छ। जात्रापर्व उसैगरी चल्दै छन्, जसका बारेमा केही समयअघि लेखेको स्टोरी कहीँ नभएको इतिहास हाँडीगाउँमा हेर्नुस् है।
हामीले गहनापोखरीको किनारै किनार दुई–तीन फेरो मार्यौं। पोखरी वरिपरि जम्मै सिमेन्ट ढलान छ। त्यतिले नपुगेर बीचमा सेतो फाउन्टेन। साँझ बेला यहाँ पानीको फोहोरा छाडिन्छ। लहरै बत्ती बालेर पोखरी झलमल्ल पारिन्छ।
‘पोखरी सिँगार्न खोजेको रे,’ तिवारीले मुख बिगार्दै प्रश्न गरे, ‘इतिहासलाई जस्ताको तस्तै राख्ने कि झिटीझाम्टाले सिँगार्ने?’
‘सम्पदाको इत्ति पनि चेत छैन मान्छेमा,’ दाहिने हातका दुई औंलाको टुप्पो जोडेर इसारा गर्दा तिवारीको स्वर एकाएक उँचो सुनिएको थियो।
मैले सोधेँ, ‘हाँडीगाउँ राजधानी हुँदा अहिलेको मध्य–काठमाडौं कस्तो थियो?’
म लिच्छविकालीन काठमाडौंको सहरी संरचना र जात्रापर्वबारे तिवारीसँग लामै कुराकानी गर्न चाहन्थेँ।
त्यति बेलाको वस्तुस्थिति र वास्तुस्थितिबाट कति अगाडि बढेछौं, कति सम्हालेर राखेछौं, कति बरालिएछौं मलाई जान्नु थियो।
‘यसो बसेर कुरा गर्न शान्त क्याफे छैन कतै?’
तिवारी हिँड्दा–हिँड्दै टक्क अडिए। दायाँ–बायाँ टाउको घुमाए। यसो सोचेझैं गरे। अनि भने, ‘के कुरा गर्नुहुन्छ, हाम्रो हाँडीगाउँ पनि तपाईंको काठमाडौं सहरभन्दा कहाँ कम छ र!’
‘हिँड्नुस्,’ उनले मलाई अघि जुन गल्लीबाट हामी आयौं, फेरि त्यही गल्लीमा छिराए।
सय–दुई सय मिटर पर दाहिनेतिर भुइँमा हरियो दूबो रोपिएको फराकिलो, शान्त क्याफे थियो। हामी वरिपरि कोही नभएको कुनाको टेबलमा बस्यौं। पृष्ठभूमिमा हिन्दी गीतको आवाज अलि चर्कै थियो। यस्तो सम्पदा क्षेत्रको क्याफेमा त नेवारी लोकधुन बजाएको भए हुने नि! वा, दसैंमा बज्ने मंगलधुन! ‘राजमती कुमती’ पनि ठिकै हुन्थ्यो!
मैले वेटरलाई हिन्दी गीतको ‘भोल्यूम’ घटाउन भनेँ, ताकि मेरो मोबाइल रेकर्डिङमा तिवारीको आवाज नदबियोस्।
सानो स्वरमा बोल्ने तिवारीले जसरी मेरो प्रश्नको जवाफ दिए, त्यसले मलाई काठमाडौंको ठूलो विशेषतासँग परिचित गरायो। वर्षौंदेखि देख्दै आएको सहरलाई हेर्ने नयाँ दृष्टि खुल्यो। ती गल्ली, ती चोक र डबलीहरू, जहाँ हरेक दिनजसो म बरालिन्थेँ, ती एकाएक मेरा निम्ति नौला भए।
उनले भनेका थिए, ‘काठमाडौंबारे हामीले खासै महत्व नदिएको पक्ष के भने, यहाँको सहरी ढाँचा, गल्ली, चोक र डबलीहरू आज पनि लगभग उही स्वरुपमा छन्, जुन कम्तीमा पन्ध्र सय वर्षअघि लिच्छविकालमा निर्माण गरिएका थिए।’
‘उही स्वरुप भन्नाले?’
‘जस्ताको तस्तै।’
म हाँसे।
उनले मेरो हाँसोको अर्थ बुझेछन् क्यारे, टेबलमाथि राखिएको मेरो डायरी आफूतिर सारे र काठमाडौं सहरको पुरानो नक्सा कोर्न थाले।
त्यो नक्सालाई अहिलेको ‘गुगल म्याप’ सँग दाँज्ने हो भने केही पुराना गल्ली तलमाथि भए होलान्, डबलीहरू साँघुरिए होलान्, ढुंगेधारा मासिए होलान्, सहरको मूलभूत वास्तु र शिल्प भने फेरिएको छैन। काठमाडौं गल्लीहरूमा दिनहुँजसो बरालिएर हिँड्ने मलाई आजको समयबाट टपक्क टिपेर त्यो समयमा लगेर खसालिदिने हो भने पनि म बाटो बिराउने छैन।
ग्रिसको एथेन्स होस् वा इटालीको रोम, इजिप्टको लुक्सोर, सिरियाको डमास्कस वा भारतको बनारस — संसारमा हजारौं वर्ष पुराना सहर थुप्रै छन्। तर, त्यस्ता प्राचीन सहर कमै होलान्, जसको मौलिक स्वरुप र संरचना नबदलिएको होस्।
काठमाडौं संसारको त्यस्तै दुर्लभ प्राचीन सहरमध्ये एक हो।
भौगोलिक रूप फेर्ने मामिलामा ‘अमिबा’ जस्तो यो सहरले धन्न लिच्छविकालीन सहरी शिल्प जोगाएर राखेको रहेछ। यसलाई चिन्ने र संसारभरि चिनाउने जिम्मा अब हाम्रो पुस्ताको।
म काठमाडौंको यो विशेषता नियाल्न बारम्बार छिचोलेका यहाँका गल्ली फेरि नयाँ ढंगले नाप्न थालेँ। तिवारीले डायरीमा कोरिदिएको नक्सा हेर्दै फेरि एकचोटि काठमाडौं गल्ली चहार्दा मलाई यो सहर नयाँ ढंगले अन्वेषण गरेझैं लाग्यो।
काठमाडौंसँग जोडिएको मेरो सबभन्दा पुरानो सम्झना के होला? दिमागमा निकै जोड दिँदा केही ठाउँहरू मलाई याद आउँछन्।
सानोमा बेलाबखत काठमाडौं घुम्न आउँदा हामी क्षेत्रपाटीको ‘नौलो होटल’ मा बस्थ्यौं। पोखरातिरका व्यवसायीले खोलेको त्यो होटल हामी गण्डकीका मान्छेको विश्वसनीय थलो थियो। क्षेत्रपाटीमा बस्ने भएपछि नजिकको इखापोखरी बिहान–बेलुकीकै गन्तव्य हुने भइहाल्यो। मैले काठमाडौंमा देखेको पहिलो पोखरी सायद त्यही हो।
क्षेत्रपाटीबाट दक्षिणतिर नरदेवी, यट्खा हुँदै वसन्तपुरसम्म धागो तानेजस्तो सोझो बाटो हामी खुब हिँड्थ्यौं। धेरैजसो पैदल, बेलाबेला रिक्सामा।
त्यस्तै अर्को बाटो धागोजस्तै तन्किएर नघः, बांगेमुढा, किलागल हुँदै इन्द्रचोकबाट न्यूरोड पुग्छ।
त्यति बेला आमाबाका पाइला क्षेत्रपाटीबाट वसन्तपुरतिर मोडिँदा म मुख बिगार्थें, न्यूरोडतिर लागे सँगसँगै लम्किन थाल्थेँ।
न्यूरोडमा नानावली किन्न पाइने विशालबजार जो थियो!
मलाई ती बाटो छिचोलेर वसन्तपुर वा न्यूरोड आउँदा पुरानो बस्तीबाट नयाँ सहरमा छिरेझैं लाग्थ्यो। अहिले पनि त्यस्तै लाग्छ।
बांगेमुढाको एउटा कुनामा यस्तो ठाउँ छ, जहाँ किला ठोकेर भित्तामा सिक्का गाडिन्छ। हिजोआज पनि थुप्रै सिक्का गाडिएका देखिन्छन्। त्यही थुप्रोमा भित्र कतै एउटा सिक्का मेरो नामको पनि होला। सानोमा मेरो दाँत खुब कीराले खान्थ्यो। बांगेमुढामा सिक्का गाड्दा दाँत दुखेको निको हुन्छ रे! काठमाडौं यस्तै कथा र किम्बदन्तीको सहर।
ती कथा र किम्बदन्ती विस्तारै विस्मृतिमा जान थालिसके। सहर पनि हिजोअस्तिको जस्तो रहेन।
मैले देख्दादेख्दै थुप्रै प्राचीन सम्पदा र पुरातात्विक स्थल अतिक्रमणमा परे। पुरानो र नयाँ सराबरी हुन थाले। पोखरी सुके, खुला चउर मासिए। काठमाडौंको विरुप देखेर मलाई त विरक्त लाग्छ, सय वर्ष उमेरका सत्यमोहन जोशीको मुटु किन भतभती नपोलोस्!
धन्न, क्षेत्रपाटीबाट धागोझैं तन्किएर एकातर्फ वसन्तपुर र अर्कोतर्फ इन्द्रचोक पुग्ने दुइटै बाटा उस्तै छन्। दुवै बाटो छेडेर दायाँबायाँ जाने गल्लीहरू उस्तै छन्। ती गल्लीहरूले नाघ्ने चोक र डबली उस्तै छन्।
तिवारीको कुरा सुनेपछि थाहा भयो, ती त मैले देखेदेखि होइन, बनेदेखि नै यस्तै रहेछन्।
काठमाडौंले जे गुमाइसक्यो, त्यो फर्काउन सकिएला कि नसकिएला थाहा छैन। काठमाडौंले जे बचाएर राखेको छ, ती धरोहर चिन्न र संसारलाई चिनाउन लायक छन्।
कम्तीमा पन्ध्र सय वर्षदेखि रूप नफेरिएको यहाँको सहरी वास्तुलाई नै विश्व सम्पदामा सूचीकृत गर्न हामीले दाबी किन नगर्ने?
त्यो सहर समृद्ध हुन्छ, जुन कथाहरूमा धनी छ। काठमाडौं कथै–कथाको सहर हो — भूगोलको कथा, इतिहास, पुरातत्व र राजनीतिको कथा, सहर, समाज, संस्कृति र सभ्यताको कथा, जात्रापर्वको कथा, हावापानीको कथा, देउता र मान्छेको कथा।
येँ, अर्थात् काठमाडौं — ‘कथायेँ’ काठमाडौं कथाहरूको शृंखला हो। पहिलो शृंखलाका आगामी अध्यायहरूमा म तपाईंलाई काठमाडौंको सम्पदा यात्रामा लैजान्छु, जसमा हामी सहरी संरचना, काष्ठमण्डप निर्माण, जात्रापर्व, लिच्छवि राजनीति लगायत विषयमा चर्चा गर्नेछौं।
पहिलो अध्याय तीनवटा विषयमा केन्द्रित हुनेछः
एक, लिच्छिवि राजाहरूले काठमाडौं सहर कसरी बसाए?
दुई, यो सहर कहिले बसालियो? ऐतिहासिक दस्तावेजहरूका आधारमा के हामी काठमाडौं स्थापनाको तिथि–मिति अनुमान गर्न सक्छौं?
तीन, लिच्छविहरूले डिजाइन गरेको सहर कस्तो थियो र त्यो स्वरुप आजसम्म उस्तै छ भनेर कसरी भन्न सकिन्छ?
पहिलो अध्यायमा जानुअघि एउटा कुरा भनिहालुँ है।
यहाँ काठमाडौं भनेर म समग्र काठमाडौं उपत्यकाको कुरा गर्दै छैन। मध्यसहरको मात्र कुरा गर्दैछु, जसलाई ‘काठमाडौं मण्डल’ भनिन्छ।
आउनुस्, अब धेरै नअलमलिकन सम्पदा यात्रामा लागौं।
(पहिलो अध्याय बुधबार प्रकाशन हुनेछ।)