श्रीमान् वितेपछि फनपार्क गएर टहलिने र छोरा उपदेशसँग खेल्ने मेरो दैनिकीनै थियो। छोरा स्कुलबाट आएपछि खाजा खाएर हाम्रा पाईला फनपार्कतर्फ मोडिए । ऊ नानाथरीका खेलहरू आफ्नै सुरमा खेल्थ्यो म एउटा कुनामा बसेर यताउता हेर्थेँ। हुन त पार्कभरी अनेकौँ मान्छे हुन्थे, मलाई कोहीसँग बस्न बोल्न भन्दा एकान्तनै मन पर्न थालेको थियो।
सधैँजस्तो एकदिन घर फर्कँदा छोरोले नयाँ साथी भेटेको कुरा सुनायो। ‘उसको पनि बाबा मात्र हुनुहुँदो रहेछ। ‘म र ऊ निकैबेर मिलेर खेल्थ्यौँ,’ छोराले सुनायो।
छोरालाई मैले नयाँ साथीलाई भेटाउन भनेँ। उसले उत्सुक हुँदै हुन्छ भन्यो। एकदिन छोरा उसको साथीसँग खेलिरहेको थियो। म एउटा कुनामा बसेर टोलाइरहेकी थिएँ। एक्कासी हल्लाख्ला सुरू भयो। मेरो ध्यान हल्लातर्फ मोडिएन। एक जना बच्चा आएर भन्यो,’ आन्टी तपाइँको बाबुलाई लडेर चोट लागेको छ।’
म झसंग भए। दौडिदै जाँदा छोरा र उसको नयाँ साथीसँग ऐया, ऐया भन्दै थिए। उनीहरु चिप्लेटी खेल्दा लडेका रहेछन्। दुबैलाई उठाएर एकै ठाउँमा राखेँ। उनीहरुलाई के भएको हो नियालेँ। छोराकी साथीसँग उसको बाबुको नम्बर मागेँ। मैले घटना विवरण फोनमा सुनाएँ।
फोनमा उसले भन्यो,’हस्पिटल लैजाँदै गर्नु। म एउटा काम सकेरु आइहाल्छु। निकै महत्वपूर्ण काममा छु।’
मलाई झनक्क रिस उठ्यो।‘कस्तो गैर जिम्मेवार बाबुर रहेछ। बच्चालाई चोट लाग्दा पनि काममा व्यस्त छु भन्ने,’मनमनै सोचेँ।
बच्चालाई ट्याक्सीमा राखेर अस्पताल पुर्याएँ। अस्पताल पुगेको केहीबेरमा उनको बाबु आइपुगे। नाम दर्ता गराउँदा छोराकी साथीको नाम उपमा रहेको थाहा भयो।
चेकजाँच गराउँदा छोरा र उसकी साथी दुबैलाई केही दिन भर्ना गर्न चिकित्सकले सल्लाह दिए। घटनास्थलमा चोट सामान्य देखिएपनि उपदेशको हात र उपमाको खुट्टाको प्लास्टर गर्नुपर्ने देखियो। उपमाको बुवा तारतम्य मिलाउन लाग्नुभयो। मैले घटनाबारे बाबुको स्कुल र परिवारका सदस्यलाई खबरे गरेँ। चिकित्सकको सल्लाह अनुसार नानीहरुलाई पाँच दिन अस्पताल राख्नुपर्ने भयो।
हामीले दुबै जनालाई एउटै क्याबिनमा राख्ने निधो गर्यौँ। उपदेशको त हातमा प्लाष्टर थियो अरू सामान्य चोटपटक थिए ऊ सजिलै यता उता हिड्थ्यो। विचरी उपमा खुट्टा हेर्दै घरी-घरी रुन्थी । बाथरूम जान उसलाई निकै गाह्रो हुन्थ्यो। कैले उसको बाबा र कैले मैले पालैपालो पुर्याउँथ्यौँ।
दिउँसोको समयमा म अस्पताल बाहिरको मौसमको हेरेर टोलाइरहेकी थिएँ। त्यहीबेला नर्स छिरेपछि उपमाले बोलाइन्। म तुरून्त भित्र गएँ। उपमालाई सलाइन चढाएको हातबाट रगत बगिरहेको रहेछ। ‘नानीको ख्याल गर्नुस्। हजुरले नानीभन्दा बढी बाबुलाई स्याहार गरेको जस्तो लाग्यो,’ नर्सका शब्दले म निशब्द भएँ।
दुबैको स्याहारमा मैले कमी त गरेको थिइँन। नर्सको भनाई सुनेर उपमाले गहभरी आँसु पारि।‘आन्टी मैले हजुरलाई धेरै दुःख दिएँ है? न म तपाईँको छोरी हो न कोही बस् उपदेशको साथी त थिएँ,तैपनि हजुरले मलाई कति माया गर्नुभाछ त्यो नर्सलाई के थाहा? त्यसै बचन लगाउँछन् है?’ उसका शब्दले मेरा आँखा टिलपिल भए।
उपमालाई अँगालोमा कसेँ। यो दृश्य नियालिरहेको उपदेशले नर्सलाई भेटेर सबै बेलिविस्तार लगाएछ। नर्सले पछि आएर माफी मागिन्। अस्पतालमा कार्यरत अर्की नर्सले उपमा र मेरो सम्बन्धबारे चासो राखिन्। ‘म्याडम तपाइँले नानीको कति केयर गर्नुभएको ऊ तपाइँको को हो?’ नर्सले चासो राखेपछि मैले हाँस्दै भनेँ, ‘ऊ मेरो छोरी जस्तै त होनी छोराकी साथी।
मलाई प्रश्न गर्ने नर्सलाई उपमाको पृष्ठभूमी सबै थाहारहेछ। ती नर्सले उपमाको कानमा गएर साउती गरिन्। उपमा खिस्स हाँसी। हाँस्दा उपमा धेरै राम्री देखिन्थी।
उसको बाबा चाहिँ अस्पतालमा कम र बाहिर ज्यादा व्यस्त हुन्थे। अस्पतालमा मैलेनै दुबैको हेरचाह गरिरहेको थिएँ। चोटको पीडा भुलेर उपमा र उपदेश एक-अर्कासँग मज्जाले गफिन्थे। उपमाको बाबु बेलुका आइपुगे। अस्पताल आइपुग्ने वित्तिकै उनले भने,‘इमर्जेन्सी कामले गर्दा ढिला भयो सरी छोरी।’
उपमाले बाबालाई जवाफ दिइ,‘इट्स ओके बाबा। त्यसपछि उपदेशको बेड नजिक आएर उनले कस्तो छ तिमिलाई भनेर सोधे।‘ठीक छ बाबा,’ उपदेशले जवाफ दियो। उपदेशले बाबा सम्बोधन गरेपछि मलाई अप्ठ्यारो भयो।
मेरो अप्ठ्यारो महशुस गरेर उपमाले भनिन्,‘मेरो बाबा पनि उपदेशको बाबा नै त होनी आन्टी।’
त्यस दिन उपमाको बाबा र म बीच परिचय भयो। ‘म दिपेश राष्ट्रसेवक हुँ। तपाइँको छोरा बारेमा उपमाले धेरै कुरा गर्थी,’ उनले कुरा उप्काए।
आफ्नो परिचय दिँदै मैले भनेँ, ‘ म उर्मिला पहिले कम्पनीमा काम गर्थेँ अहिले पसल चलाउछु।’
दिपेशले मेरो श्रीमान नभएको कुरा अनुमान गरेका थिएनन्। उनले श्रीमानबारे जिज्ञासा राखे।‘श्रीमान तपाइँजस्तै राष्ट्रसेवक हुनुहुथ्यो। फिल्डमा जाँदा सवारी दुर्घटनामा परेर वित्नुभयो,’ मैले भनेँ।
एकछिन सन्नाटा छायो। दिपेशलाई मैले उनकी श्रिमतीबारे जिज्ञासा राखेँ।‘मेरो संसारमा आफ्नो भनेकै छोरी हो। म गर्भे टुहुरो थिएँ। म १४ वर्षको हुँदा आमाले छोडेर जानुभयो। दाजु एकवर्षअघि क्यान्सले वित्नुभयो। छोरा र श्रीमति प्लेन….’त्यसपछि उहाँको वाक्य फुटेन।
मैले कुरा बुझेँ। धेरै नबोल्ने मान्छेभित्र पनि पीडा र अनुभव धेरै हुँदा रहेछन् भन्ने लाग्यो। हामीले कुरा सक्दा रातको दुई बजेको थियो। ‘रात धेरै वितिसक्यो केहीबेर भएपनि आराम गर्नुस्,’ मैले भनेँ।
‘माफ गर्नुस् है मैले मेरा कष्ट सुनाएर हजुरलाई दु:खी बनाएँ। किन किन तपाइँलाई देखेदेखि आफ्नै जस्तो आभाष हुन्छ तपाइँलाई के लाग्छ?’ दिपेशको यो प्रश्नले म केही बोल्न सकिँन। दिपेशलाई सुत्न आग्रह गरेपनि मलाई पट्टकै निन्द्रा लागेन।
विहानीपख एकैछिन झुपुक्क निदाएछु।‘मामु उठ्नुस्,’ उपदेशले मलाई ब्युँझायो। उपमा एक्लै बाथरूम जान लागेकी रहेछिन्। लड्न लागेपछि उपदेशले मलाई बोलाएको रहेछ। ‘किन एक्लै जान लागेकी बोलाउनुपर्दैन?’
म निदाएको देखेर नउठाएको जवाफ उपमाले दिई। म रिसाएको जस्तो लागेर उसले भनी,’सरी आन्टी।’
उपमालाई बाथरूम पुर्याएर ल्याउँदा उसको बाबाले खानेकुरा लिएर आउनुभएको थियो। हामीले खाजा मिलेर खायौँ। बिहानको खाना उपमाकी काकीले ल्याइदिनुभयो। त्यो पनि मिलेर खायौँ। अस्पताल बसाइको त्यो दिन अन्तिम थियो। डाक्टरले हेरेर दुबै जनालई घर जान अनुमति दिनुभयो। घर जानेभनेपछि दुबै जना खुशी पनि थिए। दुखी पनि भए। उपमाले उपदेशलाई धेरै माया गर्थी त्यसद्यै उसले मीस गर्ने भइहाल्यो। डिस्चार्ज हने बुझेपछि उपदेशले मलाई भन्यो,’ उपमालाई मासु खान मल लाग्या छ रे मामुले त मीठो बनाउहुन्छ। के गर्ने?’
मैले बेलुकाको खानासँगै खाने तारताम्य मिलाए। अडहरको दाललाई जिम्मु र लसुनले झानेँ। टमाटरको तिल छोप हालेको चटनी, साग अनि कुखुराको मासु पकाएँ। खाना खाएपछि उपमाले भनि, ‘घरमै खाए जस्तो पो भयो बाबा। ममीले पस्केर दिए जस्तो मलाई पनि यस्तै मीठो खाना बनाउन सिकाइदिनुस् है।’
उपमाको बाबाले पनि खानाको तारिफ गर्नुभयो। त्यो दिन उपमा र दिपेश हामीकहाँनै बसे। त्यस रात पनि हामी गफियौँ। भोलीपल्ट निस्किने बेलामा पनि उपदेश पनि टोलायो। म पनि टोलाएँ। उपमा र दिपेश पनि निराश देखिन्थे।
‘यो कस्तो माया, कस्तो सम्मान कस्तो आदार। एक अर्काप्रति अन्जान हामी छोटोसमयमै निकट भयौँ। उपदेशको लागि राम्रो साथी भेटिएको थियो। उपमाको लागि भाई। हामी त पूर्ण परिवार जस्तो छौँ,’ मनमनै सोचेँ।
हिँड्ने बेला उपमाले सधैँ यस्तै माया गर्नुहै भनि। उसको न्याउरो मुख देखेर म पनि भक्कानिए। उपदेश पनि मसँगै लुटपुटिएर रून थाल्यो।
‘मलाई भेट्न आऊ है मेरो घरमा,’ उपमाले उपदेशलाई भनि। हिँड्ने बेला नम्बर उपदेशले नम्बर माग्यो। पिलपिल गर्दै उपमाले नम्बर दिई। केही दिनपछि उपदेशले उपमाका जाने कुरा बतायो। मैले एकदुई दिनमा जाने भनेपछि ऊ फुरुङ्ग भयो। उपदेशले एक दिन उपमालाई फोन गर्यो। ‘के गर्दैछौ मामु के गर्दै हुनुहुन्छ?’ उपमाले मामु भनेपछि म फेरि झसंग भएँ। उनीहरु आफ्नै पारामा गफ गर्दै थिए। म तरकारी टिप्न करेसा गएँ।
एक सातापछि उपमाले फोन गरेर कहिले आउने सोधी। त्यस दिन उसको बाबाले पनि छोरीले साह्रै रहर गरेकाले आउन आग्रह गर्नुभयो। हामीले उपमाका जाने निधो गर्यौँ। त्यसपछि उपदेशले मासु किनेर बनाउन आग्रह गर्यो। ऊ उपमालाई भेट्न जान निकै उत्सुक थियो। मासु पकाएर हामीले लिएर गयौँ। उपमाको घरमा छिर्ने वित्तिकै उसले मामु भन्दै अंगालो हालेर रुन थाली। एकछिन हामी रोयौँ। सायद यो खुशीको आँशु थियो। मिलनको आँशु थियो।
उपमाले घरभित्र लगेर हामीलाई देखाई। सानो घर सरसफाईको कमीले फोहोर थियो। उपमा र उपदेश गफिँदै गर्दा किचनमा गएर खाजा बनाएँ। खाजा दिएर सोधेँ,‘उपमा बाबा खोई त?’
अफिसको कामले बाहिर जानुभएको जानकारी उपमाले गराई। मैले घरको सामान्य सरसफाई गरेँ। काम सकेर उपमाको बाबालाई फोन गरेर घरमा आएको जानकारी दिएँ। उहाँले केहीबेरमा आउने बताउनुभयो। उहाँ आउनुअघि मैले उपमाका कपडा धोइदिए। नमिलेका कपडा मिलाइदिएँ। केहीबेरमा उहाँ आउनुभयो। उहाँलाई देखेपछि मेरो मन रमायो। किचनमा गएर खाजा खान मैले आग्रह गरे। उहाँले मीठो मानेर खानुभयो। खाजा खाएपछि उपमा र उपदेशलाई भेट्नुभयो। भेट्ने वित्तिकै उपदेशले बाबा भन्दै अँगालो हाल्यो। उहाँले पनि छोरा भन्दै हालखबर सोध्नुभयो। हामी आएपछि उपमा निकै प्रशन्न थिई। उपमालाई खुशी देखेर उहाँले भन्नुभयो, ‘बल्ल छोरीले भनेजस्तै घर भयो।
हामी एकछिन गफियौँ। समय गएको पत्तै भएन। घडीमा पाँच बजेको रहेछ। ‘बाबु अब हामी फर्किनुपर्छ,’ उपदेशलाई भनेँ।
फर्किने शब्द सुन्नासाथ ऊ नियाउरो भयो। जाने कुरा सुनेपछि उपमाले भनी, ‘मामु आज यहीँ खाना खाएर जाँदा हुँदैन।’
उपमा हामी आज त्यहीँ बसेहुन्थ्यो भन्ने चाहान्थी। उसको चित्त दुखाउन मन लागेन। त्यस दिन त्यहीँ बस्ने निधो गर्यौँ। ‘तिम्रो आगमनले उपमान निकै खुशी छ देख्यौँ,’ दिनेशले भन्नुभयो।
उहाँले तिमी सम्बोधन गरेपछि म अकमक्किए। मैले बनाएको खानाको प्रशंसा गर्दै भन्नुभयो, ‘सधैँ तिमिले पकाएको खाना पाए त ज्यान पनि लाग्थ्यो होला!’ उहाँ जिस्किन थाल्नुभयो।
आफुलाई सम्हाल्दै उहाँसँग कुरा गर्न थालेँ। ‘जुन चीज आफ्नो हुँदैन त्यसको महत्व धेरै हुन्छ। मलाई कुनै चीज पाउने रहर र गुमाउने डर लाग्दैन। भोग्नैपर्ने कुरा नचाहेर पनि भोग्नुपर्ने रहेछ। सरकारी सेवामा प्रवेश गर्ने रहर मलाई पनि थियो। तर समय परिस्थितिल संभव भएन।’
मेरो कुरा सुनेर उहाँले अझै केही नविग्रिएको बताउनुभयो। मनमा दृढ इच्छाशक्ति राखेर कोशिस गर्न सुझाउनुभयो। आफुले साथ दिने प्रतिवद्धता जनाउनुभयो। उहाँको हौसलाले मनमा उमंग बढेर आयो।‘मेरो लागि पनि कोही साथ दिने मान्छे रहेछ।
उहाँको हौसलाले मैले लोकसेवाको पढाईलाई निरन्तरता दिने निधो गरेँ। परीक्षामा सामेल पनि भएँ। प्रथम पत्रमा सफल भएँ।
द्वितीय पत्र पढ्न थालेँ। आफ्नो परीक्षा आफैँ लिएर उहाँलाई जाँच गराउन लगाउँथे। उहाँले समय मिलाएर हेरेर सल्लाह सुझाव दिनुहुन्थ्यो। लेख्ने सीप सिकाउनुहुनथ्यो। मेरो परीक्षाको समयका लागि ६ दिन मात्र बाँकी थियो। त्यस दिन उहाँले दुईजना मात्रै घुम्न जाने प्रस्ताव गर्नुभयो। मैले सहजै स्वीकार गरेँ।‘छोराछोरीसँग भेट्दा हामीले हाम्रो कुरा भन्न पाएका थिएनौँ यो एउटा मौका पनि हो,’मनमनै सोचेँ।
म घरबाहिर निस्किन लागेको थाहापाए उपदेश रुन थाल्यो। उसलाई पनिसँगै लिएर उपमाको घर गएँ। त्यस दिनपनि उपमा गेटमा अंगालो हाल्न आइन्। उपमाले सायद हामीमात्रै भेट्ने कुरा थाहा पाएकी थिई । केहीबेरपछि उसले भनि, ‘तपाइँहरुको योजना सफल बनाउनुस्। उपदेश र म घरमै बस्छौँ।’
उनीहरुलाई खाजा बनाएर हामी घरबाट निस्किने तयारीमा थियौँ।‘समयमै फर्किनुस् है,’ उपमाले भनि।
उसका शब्दले मेरो मन छोयो। अरुबेला छोराछोरीसाथै राखेर भेट्ने हामी पहिलोपटक उनीहरु बेगर कतै जाँदै थियौँ। हामीले २ घण्टा बाहिर समय वितायौँ। त्यो दुई घण्टा मलाई निकै डर र कौतुहलताले सताइरहेको थियो।