दसैं बिदामा एक जना विदेशी मित्र मलाई भेट्न, मेरा कामहरू हेर्न र प्रत्यक्ष अनुभव गर्न काठमाडौंबाट तिलाठी आइन्।
तिलाठी सप्तरी जिल्लाको सदरमुकाम राजविराजबाट ७ किलोमिटर दक्षिणमा पर्ने एउटा गाउँ हो। तिलाठी ठ्याक्कै भारतसँगको सिमानामा पर्छ। यो गाउँ प्राकृतिक प्रकोपहरू; बाढी, हावा, हुरी र आगलागीका कारण बेलाबेला समाचारमा आउँछ।
विगत केही समयमा सिमानामा भइरहेको द्वन्द्वका कारण पनि चर्चित छ। समाचारमा नभेटिने तर हाम्रो गाउँदेखि देशैभरि नै, पढेलेखेका, ५० वर्ष काटेकासँगको अन्तर्क्रियामा पटकपटक सुनेको छु- कुनै समयमा नेपालमै सबभन्दा धेरै शिक्षित भएको गाउँ हो तिलाठी।
मेरो जन्म यही गाउँमा भएको हो। तर म सानो छँदा नै हामी परिवार यहाँबाट पलायन भयौं। मैले विराटनगरको निजी स्कुलबाट एसएलसी दिएँ र काठमाडौंमा निजी कलेजबाटै इन्जिनियरिङ सकेँ।
पढाइलाई निरन्तरता दिँदै जर्मनीबाट इन्जिनियरिङमा, फिलिपिन्सबाट विकास व्यवस्थापनमा र बंगलादेशबाट अर्थशास्त्रमा छात्रवृत्तिमा स्नातकोत्तर गर्ने मौका पाएँ। राष्ट्रिय र अन्तर्राष्ट्रिय विविध संघसंगठनमा काम गर्ने पनि मौका पाएँ। मोटामोटी २५ वटाभन्दा बढी देश घुमेँ।
तिलाठी पढेलेखेको गाउँ भनेर चिनिँदा खुसी लाग्छ। यहाँका युवाहरू आआफ्नो क्षेत्रमा सफल छन्। दुर्भाग्य, गाउँ चाहिँ विफल भइरह्यो। मुख्य कारण पलायन भएका सफल पुस्ता गाउँ फर्केर नआउनु हो। जो कहिलेकाहीँ फर्किए, उनीहरू अतिथि मात्र भएर आए।
विद्यालयमा गुणस्तर शिक्षा र समाजमा सक्षम युवाको कामले नै समाज रूपान्तरण हुन्छ। यी दुवैको तिलाठीमाजस्तै देशभरिकै गाउँमा कमी छ।
गाडीमा मैले साथीलाई केही समयदेखिको मेरो प्रत्यक्ष बसाइ र यहाँ गरेका कामको अनुभव सुनाएँ। बुवा, बहिनी, भान्जाभान्जी सखडादेवीको दर्शन गरेर मलाई भेट्न आउनुभएको रहेछ।
गाडीबाट नओर्लिँदै सदाझैं बुवा भट्भटाउन थाल्नुभयो, 'छोरा इन्जिनियर भयो, देशविदेशमा पढ्यो, राम्रो गतिलो अफिसमा काम गर्छ भनेको त गाउँमै भौंतारिने भयो।'
मेरो साथीलाई देखेपछि बुबाले गफगाफको माहोल परिवर्तन गर्नुभयो। विदेशी साथी बुवाका कुराको भाव बुझ्न सक्ने थिइन्। साँझमा उनले मेरो बुवाको आवेग प्रति जिज्ञासा राखिन्।
म जन्मिएपछि आमाबा छोराछोरीले राम्रो शिक्षा पाऊन् भनेर गाउँदेखि सहर पलायन हुनुभएको हो। अहिले उहाँहरू विराटनगरको स्थायी बासिन्दा भइसक्नुभयो। तिलाठीमा लगभग २५ वर्षअघि भीषण आगलागी हुँदा पूरै गाउँ सखाप भयो। मेरो घर पनि जलेको थियो। चार वर्षअघि आमाबाले फेरि घर बनाएपछि गाउँ आउजाउ बढ्न थालेको हो।
पुर्ख्यौली गाउँमा छोराले नयाँ आयाम ल्याउन प्रयासरत हुँदा आमाबा गौरवान्वितभन्दा चिन्तित भएको पाउँछु म। यो मेरो मात्रै कथा होइन, घरघरको यथार्थ हो। सुखद भविष्यका लागि गाउँबाट नगर, नगरबाट महानगर, महानगरबाट विदेश पलायन हुने चलन नै भइसकेको छ। विदेशिएकाले देश बन्दैन, सहरिएकाले गाउँ बन्दैन भनेर भविष्यवाणी नै गर्छन्। मेरो बुबाले लगभग सबै नेपाली अभिभावकको प्रतिनिधित्व गर्नुहुन्छ जसले गाउँ, सहर, पूरै देश नै बनोस् भन्ने आकांक्षा त राख्नुहुन्छ तर यी सबै काम आफ्ना होइन अरूका छोराछोरी गरून् भन्ने चाहनुहुन्छ।
मैले आफ्नो कुरा नसक्दै उनले आफूले नेपालमा पाउने तलब उनका भाइले थाहा पाउँदा उनको देशमा मासिक कोठा भाडाभन्दा पनि कम भएको जिकिर गर्दै मजाक उडाएको प्रसंग जोडिन्।
हामीले गर्ने कामको तहलाई बेवास्ता गर्दै बाह्य प्रेरणामा सीमित छ यो समाज! नेपालमा मात्रै होइन संसारभरि नै यस्तै छ क्या र! मेरी साथीले सिरियामा काम गरेकी थिइन्। शरणार्थीहरूको वस्तुगत स्थिति बुझ्नेदेखि द्वन्द्व क्षेत्रमा कुपोषण, भोकमरी, आधारभूत आवश्यकताको कमीले पीडित शरणार्थीसँग भेट गर्थिन्। साथीका अनुसार उनीहरूलाई समेत उनको बिहे, बच्चा नभएकोमा चिन्ता थियो।
एकपटक हामी दुवै एक परियोजनाअन्तर्गत अनुगमन र मूल्यांकन गर्न सिन्धुपाल्चोक पुगेका थियौं। त्यो बेला धेरैपटक समुदायका मानिसहरूले हामीलाई 'जोडी' भनेर अनुमान गरे। महिला साथी अविवाहित र हामी एउटै परियोजनामा काम गर्ने सहकर्मी मात्र भएको तथ्य अपाच्यझैं भयो।
३० वर्ष कटेको महिला अविवाहित हुनु र बिहे भएको भए पनि बच्चा नहुनु ठूलै अपराधसरह मानिन्छ कतिपय ठाउँमा यस्तो हुँदा नेपाली महिलाले घोचपेच, व्यंग्य सुनेको घटना नयाँ थिएनन् मेरा लागि। तर एक युरोपेली महिलासँग पनि धेरै देशहरूमा यस्तो अपेक्षा राखिँदो रहेछ। यो मानसिकता महिला र पुरुषप्रतिको विभेदभन्दा पनि तरंगको वेगभन्दा विपरीत हिँड्नेहरूलाई असामान्य मानिने रहेछ।
मेरा एक जना उद्यमी काका हुनुहुन्छ। उहाँ गाउँमा एक भोजमा आउँदा आफ्नो मित्रलाई मेरो शैक्षिक योग्यता र अनुभव सुनाउँदै मेरो परिचय दिनुभयो। म मोटामोटी एक वर्षदेखि गाउँमा बस्दै आएको थाहा पाएपछि एकछिन उहाँका साथी अवाक हुनुभयो। त्यसपछि उहाँले नकारात्मक प्रतिक्रिया दिँदै गाउँमा बसेर मैले मेरो योग्यताको अवमूल्यन गरिरहेको भन्नुभयो। म गाउँ बस्नुको उद्देश्य, प्रेरणा, दृष्टिकोण केही जान्न खोज्नु भएन। अनि हाम्रो सुरू नहुँदैको वार्तालाप सन्नाटामा सकियो। पढेलेखेपछि के गर्दा ज्ञानको सम्मान गरेको हुन्छ भन्ने उहाँको बुझाइ मैले जान्न सकिनँ।
केही वर्षअगाडि काठमाडौंको एक कलेजले स्नातक समारोहमा मलाई विशेष वक्ताका रूपमा निमन्त्रणा गरेको थियो।
मैले त्यहाँ भनेँ- व्यवस्थापन र प्राविधिक जनशक्तिका लागि न्यून श्रोत भएको हाम्रो देशमा यस्तो शिक्षा पाउनुमा हाम्रा आमाबा र अग्रजको योगदान भएकाले उहाँहरूप्रति हामी कृतज्ञ हुनुपर्छ। आज तपाईंहरू यति योग्य हुनुहुन्छ। तपाईं हाम्रो सामूहिक कर्मले देश रूपान्तरण हुनसक्छ। सन् २०११ को जनगणनाका आधारमा नेपालमा ३ प्रतिशतले मात्रै स्नातक गरेका छन्। तपाईंहरू भाग्यमानी ३ प्रतिशतमा पर्नुहुन्छ। तपाईंहरूले युवा जनशक्ति कम भएका अस्ट्रेलिया, युरोप, उत्तरी अमेरिकाका देशहरूमा अवसर पाउनु हुनेछ। तर नेपालमा तपाईंको अत्यधिक खाँचो छ। व्यवस्थापक र प्राविधिक प्रबन्धक र नेतृत्वहरू यो देशको कुनाकुनामा चाहिएको छ।'
मैले नोबेल पुरस्कार विजेता डा. डान शेटम्यानका भनाइ पनि राखेँ। उनले गुणस्तरीय शिक्षा नै देश रूपान्तरणको माध्यम भएको विश्वास मसँगको अन्तरक्रियामा राखेका थिए। कुनै पनि देशको परिवर्तन त्यहीँका नागरिकले ल्याउने हो, शिक्षा नै परिवर्तनको माध्यम हो भनेर उनले भनेका थिए। उनले आफू नेपाल आएको र यहाँ अपार सम्भावना भएको बताएका थिए। गुणस्तरीय शिक्षामा लगानी गरेर मानव पुँजी निर्माण गर्नुपर्ने उनले बताएका थिए।
उनका भनाइ मैले कार्यक्रममा सुनाएँ। सबैले ताली बजाउनुभयो।
बेलुकी डिनरमा म बसेको टेबलमा मेरो कुराबाट निराश परिवार बसेको थियो।
अभिभावकले भन्नुभयो- म तपाईंसँग असहमत छ। आफूलाई देशमा सीमित राख्नु हुँदैन। बरू विश्वव्यापी मानसिकता हुनुपर्छ भन्ने मेरो विश्वास हो।
निष्कर्षमा उहाँको भनाइ छोराछोरी युरोप, अमेरिका, अस्ट्रेलिया जहाँ गए पनि नेपालप्रतिको कर्तव्य पूरा नै हुन्छ भन्ने थियो। उहाँको कुरा सुनेर म मुस्कुराएँ। मैले आफ्ना कुरा राखे, उहाँले आफ्ना कुरा राख्नुभयो। मैले कसैलाई कतै जान रोक्ने क्षमता छैन र रोकेको पनि छैन। मानिस स्वतन्त्र छ, उसको भाव र कार्य गतिशील नै हुन्छ।
विदेशिएका र सहरिएकासँग मात्र एक अनुरोध छ- विदेशमा बसेर स्वदेश बनेन र सहरमा बसेर भनेर गाउँ बनेन भन्ने चिन्ता चाहिँ नलिनुस्।
राजविराजमा एकचोटी युवाहरूसँग अन्तर्क्रिया गर्ने क्रममा एक युवा निराश हुँदै पढाइको यो समाजमा महत्व नभएको सुनाए। उनले राजविराजमा एउटा पुस्तैनी हलवाईले आफ्ना छोरालाई स्नातक पढाएपछि पनि हलवाई नै बन्नुपरेको उदाहरण सुनाए।
उनी भन्दै थिए, 'कहीँ जागिर नपाएपछि पढेको के काम!'
हामी हल्दीराम, बिकाजी जस्तो कम्पनीको जागिरे हुन रूचाउँछौं। यस्ता कम्पनीको बिक्री वृद्धि गर्दा प्रतिष्ठासँग जोड्छौं। तर आफ्नो खानदानी ज्ञान र सिपको बजार देख्दैनौं। आधुनिक संसारको आवश्यकतासँग जोडेर सान्दर्भिक ज्ञान र सीपको बजार सिर्जना गर्न सक्यौं भने मुलुकले रोजगारी र आर्थिक पक्षसँगै अरू धेरै क्षेत्रमा कति धेरै फाइदा लिन सक्छ भनेर सोचेका छौं?
आज विश्वभरि नै आफ्नो परम्परागत र पारिवारिक ज्ञानको बजार बनाउने असंख्य उदाहरण छन्। विदेशिनु, विदेशी सामान नेपालमा आयात गरेर बेच्नुलाई मात्र होइन, नेपाली सामान र सेवा संसारभरि स्थापना गर्न सके पो विश्वव्यापी बजारले नेपाललाई लाभ भएको भन्न मिल्छ।
यो छोटो समयमा मैले गाउँमा रासन राहत वितरण, शिक्षा, स्वास्थ्य, रोजगारमूलक तालिम सिर्जना गराएर पाँच जनाले मेरो व्यक्तिगत संगठनमा रोजगार पनि पाएका छन्। असंख्य बासिन्दाले अनेक सुविधा पनि पाएका छन्। विद्यार्थीलाई इन्टरनेटमा सामाजिक सञ्जाल र गेममा सीमित नगराएर प्राविधिक ज्ञानलाई उनीहरूको सिकाइको गुणस्तर वृद्धि गर्न उपयोग गरिरहेको छु।
विकासलाई अर्थतन्त्रसँग जोड्दै निम्न वर्गसम्म पुग्न जमर्को गरिराखेको हुँ मैले। एक वर्षलाई फर्केर हेर्दा, सकारात्मक र नकारात्मक दुवै अनुभव पाएँ। डटेर, आत्मविश्वासका साथ प्रयास गरियो भने परिणाम कुशल नै हुँदो रहेछ। आफूले एक पाइला सारे सम्हाल्ने अनेकौं हात आइपुग्दा रहेछन्। प्रोत्साहन, विश्वास, साथ र सहयोगका लागि सदैव कृतज्ञ हुन्छु।
यस्तो काम गर्दा भाँजो हाल्ने, नकारात्मक टिप्पणी गर्नेहरू हुनु पनि स्वाभाविक हो। अलिअलि सहयोग गरेर धेरै गरेँ भन्नेहरू पनि भेटिन सक्छन्। तर यो सबै हाम्रो समाजको यथार्थ हो।
हामी आफूलाई जिम्मेवार सोच्छौं र देश रूपान्तरणमा योगदान गर्न चाहन्छौं भने स्वागत छ सबैलाई। रूपान्तरणका लागि योगदान गर्ने तपाईसँग आत्मविश्वास छ भने अगाडि बढ्नुहोस्। तर तपाईंलाई फूलको मालाले स्वागत गर्न कोही पनि पर्खिरहेको हुने छैन।
वास्तविक जीवनको सुन्दरता नै सफलताको सट्टा संघर्ष रहेछ, अनन्त संघर्ष!
क्रमशः
भाग १- राहत वितरणले सिकाएको पाठ
भाग २- अनि मैले 'एम्बुलेन्स' बनाएको गाडी बेचिदिएँ
भाग ३- यो त सुरूआत मात्रै हो!
(शैलेन्द्र झाका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटरः @sailjha