यो अनुभूति लेख्ने बेला बाहिर झरी परिरहेछ। असारको अन्तिम हप्ता पोखरा र झरी स्वाभाविक पनि हो। साँझका बेला झरि परे पनि कोठा भने तातिरहेछ, सिलिङमा फ्यानको गति तिब्र छ, फ्यानझै तिब्र दौडेको छ मन। यो बेला म उस्तै स्तब्ध छु।
असार १५ देखि १७ गतेसम्म ‘कन्सेप्ट नेपाल’ले आयोजना गरेको ‘आँपस्वारा काव्ययात्रा–२०७९’ का लागि सागर उदास दाइ र अमृत भादगाउँले दाइले निम्तो पठाउनु भएको थियो।
त्यही दिन पोखराको ‘पुछार सिटे अभियान’ले असार १५ गते साँझ ५ बजे दही-चिउरासँग कविता, पुछार सिटमा अमृत, एकल कविता वाचनका लागि मलाई मन्चमा उभ्यायो।
साँझ ७:२० बजे एकल कविता वाचन सकिएपछि साथी सुरज उपाध्याय, सञ्जीव पौडेल र म पोखराबाट तनहुँका लागि हिँड्यौं।
हामी हिँड्ने बेला पोखरामा मुसलधारे वर्षा भैरहेको थियो, अँध्यारो र भारी वर्षाका कारण गाडी कुदाउन उस्तै असहज भैरहेको थियो।
सुरज र सञ्जीवका ननभेज गफले बाटो काटेको पत्तै पाइएन। गाडी अलि स्पिडमा थियो अचानक सडक बीचमा ठूलो खाल्टोमा गाडी खस्यो र टायर पन्चर भयो।
उताबाट अमृत दाइको फोन आइरहेको थियो–कता आइपुग्नुभो?
टायर फेरेर दमौली बजार पुग्दा रातिको १०.३० बज्दै थियो। हामीलाई लिन भनेर गाउँबाट तीन जना भाइहरू दमौली बजार झरेका थिए। यसको व्यवस्था मेघराज आचार्य सरले गर्नु भएको थियो। गाडीलाई दमौलीमै छाडेर हामी तीनै भाइहरूका मोटरबाइकमा बसेर आँपस्वारातिर उकालियौं।
गाउँमा पुग्दा रातको ११ बजिसकेको थियो। पहाडसँगै गाउँ निदाइसकेको थियो। कुकुरहरू भुकिरहेका थिए। भ्यागुताका आवाज स्पष्ट सुनिन्थे, बर्खे समयको सुसेली सधैंझैं उस्तै थियो। हामी भोकले रनाहामा थियौं।
आँपस्वारा सामुदायिक दलित होमस्टे, घर नम्बर ४, सुरज बिकको घरमा पुग्यौं हामी।
सुतिसकेका आमा र बैनी उठनुभो। हँसिलो अनुहारमा अलि लजाएर सानी बैनीले खाना पस्किनु भो। भोकको झोंकमा झ्यामझ्याम खाना खाएपछि केहीबेर सुरज दाइहरू कुराकानीमा जुटें। उहाँले लेखेका अनेक लेखहरू साथी सुरज र सञ्जीवले अध्ययन गरे तबसम्म म निदाइसकेको थिएँ।
बिहान सबेरै ५ बजे निद्राले छोड्यो। बाहिर रिमरिम उज्यालो हुँदैथियो। म कोठा बाहिर निस्केर सबैतिर नियालें। फूलझैं देखिने बादलका ससाना गुच्छाहरू पहाडको सिरानी हाली निदाइरहेका थिए।
गाउँ बिहानको मिठो निद्रामा लिप्त थियो। हामी गाँउको सिरानमा बसेका रहेछौं तब सबैतिरको दृश्य नियाल्दा बडो मोहक लागिरहेको थियो। शितल बिहान, मन्द चिसो बतास यताउता दौडिरहेको थियो। फ्याट्टफुट्ट केही चरा ब्युँझिसकेका थिए। त्यतिकैमा घरको दैलो पनि खोल्नु भो होमस्टेकी दिदीले।
कार्यक्रमको ढाँचाअनुसार बिहान ८ बजे गाउँको सिरानमा रहेको थानीमाई मन्दिर पुग्नु थियो। हामीले बिहानको खाजामा पोलेको मकै र चिया खायौं। वर्षौपछि भुङ्ग्रोमा पोलेको मकै खाँदा मैले बाल्यकाल झलक्क सम्झें। धुवाँ पुत्याइरहेका बेला आँखा मिच्दै मकै पोलिरहेकी आमालाई सम्झें। सम्झनाहरू यसरी आइदिन्छन् र त जीवन मीठो भैरहेछ।
बिहानको ८ बज्दै गर्दा अमृत भादगाउँले दाइ आइपुग्नुभो। दाइसँगको यो मेरो पहिलो भेट थियो, केही दिन अगाडि कुश्मामा मित्र आर.के. अदिप्तले दाइको बारेमा सुनाउँदै थियो। जस्तो उसले बयान गरेको थियो दाइ उस्तै मीठो लाग्यो।
थुप्रै आदरणीय अग्रज साहित्यकारहरूसँगको भेट यही बिहानीमा भयो।
हामी थानीमाई उक्लियौं। कच्ची सडकको बाटो असहज तर सहज हुँदै हामी हिँड्यौं।
‘कालोपत्रे भयो भनेर नेताले पैसा खाइसके तर सडक भने कच्चिनै छ’, गाउँलेको गुनासो सुनिएको थियो।
खैर ! त्यो व्यास नगरपालिकालाई थाहा होला।
मास्तिर बाटोभरि लहलह खरका घाँसहरू बहेली खेलिरहेका थिए। पाखाबारी बाँझो थिए। चिलाउनेका पोथ्राहरू बैंसालु उमेर पर्खिरहेका थिए।
लज्जावती झार यत्रतत्र लजाउन आतुर देखिन्थे। सिङ्गो गाउँ प्रायः सहर झरेको थियो। ताल्चाहरू उघ्रने समय कुरिरहेका थिए। घरहरूमा लेउ र झार पलाएका देखिन्थे। केही घर भने यसरी होमस्टेको स्वाद चखाउन उस्तै उत्साहित थिए।
हिँड्दैहिँड्दै हामी थानीमाई पुग्यौं। यो गाउँको आस्था केन्द्र रहेछ। मगर समुदायका दुई जना पुजारीले हरेक आइतबार धूप राख्ने चलन चलिआएको रहेछ। थानीमाईको सत्तलमा आइपुगेपछि हेमन्त विवश दाइले डेउडा सुनाउनु भो। पहिलो पटक प्रत्यक्ष डेउडा सुन्ने मौका पाएँ। हेमन्त दाइलाई ‘छाइल’ उपन्यासका लेखक लोकराज भट्टले पनि साथ दिनुभयो।
सुनेर म मात्र होइन, हामी सबै उत्साहित बन्यौं।
हामी त्यहाँबाट गाउँमा फर्कियौं। खाना पछि अपरान्हमा ठूलो आँपको चौतारीमा औपचारिक कार्यक्रम सुरू भयो। दलित समुदायका विषय माथि छलफल र अनुभवहरू सेयर गर्यौं। कविता पनि सुनायौं।
विगतमा नजानेर भएका विभेदका आत्मालोचनाहरू लेखक तथा पत्रकारहरूले गरे।
हामी अर्को दिन हेटौंडा जानुपरेकाले साँझ ५ बजेतिर बिदा भएर हिँड्यौं। सबैभन्दा ढिलो पुगेर सबैभन्दा छिटो छुट्टिनु पर्दाको नमिठो समय सँगै हामी दमौली बजारमा ओर्लियौं।
देशकै पहिलो सामुदायिका दलित होमस्टे आँपस्वाराको मीठो आतिथ्य, सदभाव र सहज बसाइले निकै लोभ्यायो।
हामीले मान्छेमान्छे बीचको विभेदमा मान्छेलाई मान्छेबाटै अलग बनाउन सिक्यौं। अब हामी मान्छे मान्छे बीचको विभेद हटाएर मान्छे हुन सिक्नेछौं।
हामी काला भए पनि मान्छे हौं, गोरा भए पनि मान्छे हौं। जुन जातका भए पनि मान्छे हौं। मान्छेबाट मान्छे कहाँ पर पुग्न सक्छ र ! बस, हामी मात्रै मान्छे बन्न सिक्यौं, जान्यौं भने हामी रहनेछौं। यो होमस्टेले मान्छे बन्ने मार्गलाई फराकिलो बनाएको छ।
मान्छे खोजिरहेको क्यानभाष
मान्छेले मान्छेलाई
मान्छे नमाने पछि के हुन्छ ?
क्यानभाषमा रङ पोतिरहेका बाले
मुस्कुराएर भन्नुभो
यी यस्तै हुन्छ
मैले आकृति दिन नसकेको चित्र जस्तै
वर्षौं भो बाले कुची र रङ्सँग खेलेको
मैले अहिलेसम्म देखेको छैन
बाले बनाएका सुन्दर आकृतिहरू
बा ! यो क्यानभाषमा सजिव चित्र कहिले बन्छ ?
पोखिएको रङ पुछ्दै बाले भन्नुभो
मान्छेले मान्छेलाई मान्छे देख्न थालेपछि
क्यानभाष सजिव हुन्छ।
यो अनुभूति लेखिरहँदा आँपस्वारा सामुदायिक दलित होमस्टे, घर नम्बर ४ जहाँ हामी बसेका थियौं। उनै घरमूलि सुरज बिक दाजुको ह्रदयघातका कारण मृत्यु भएको खबर सुनेको छु। निकै फरासिला, हँसिला, गोरो मुहारका सुरज दाइसँगको यो भेट पहिलो र अन्तिम भएको छ। हो यो बेला म स्तब्ध छु।
म सम्झिरहेछु हँसिली ती दिदी, भर्खर फुल्दै गरेका निर्दोष नानीहरूको अनुहार, गाउँभरि डुल्न खोज्ने दुई बाबुहरू। सुरज दाइप्रति हार्दिक श्रद्धा सुमन!
यहीबेला म सम्झिरहेछु, गाउँको सिरानमा गाउँलाई रक्षा गर्न बसेकी थानीमाई।