निदाउनुअघि अर्को पाना पल्टाएँ। पिकासोले भनेका रहेछन्, ‘म धनी बन्न चाहन्छु, ताकि चैनको निद्रा सुत्न सकुँ, गरिबले जस्तो।’
यात्राको अघिल्लो रात अनेक तर्क मोबाइलका एपमा झैं सल्बलाउँछन्। त्यही भाकामा सोचेँ, म यात्रा गर्न चाहन्छु, ताकि चैनको निद्रा सुत्न सकुँ, रैथानेजस्तो।
झरी दर्कियो। बाछिटा छट्किँदै आयो। परेवाले झ्यालको खापामा पखेटा चलायो। झरीको संगीत बलेसीअनुसार बज्छ। बलेसीमा जारी रियाज अनुकूल तन्द्राहरू मेरो सिरानीमा बास गर्दै अलार्म बेल बन्न थाले।
सखारै उठेर रूकस्याकको जुरो कसेँ। ट्रेकिङ बुट उनेँ। बस चल्ने बेला भएकै थिएन। त्यस्तो बेला पाइताला रोक्न सकिँदैन। बुटमा ब्रेक हुँदैन। त्यसै त्यसै बत्तिइयो भने आफैंलाई दोष दिनू। नभए, रातभरि अनिँदो झरीलाई।
सिनित्त नुहाएर सिरसिर हावाको पातलो झिलझिले लुगा फेर्दै गरेको काठमाडौं। गाडीहरू चल्न भ्याएका छैनन् भने नाक टाठो पार्नुपर्छ। फूलहरू हरर्र बसाउँछन्। त्यस्ता फूल कसैका गमलाबाट होइन, सडक किनार मिल्केका बाङ्गाटिङ्गा हेर्दै हेपिएका बुट्यानभित्र फक्रेका हुन्छन्। त्यस्तै बुट्यानमुनि अलपत्र डल्लाहरूको रास देखेपछि थाहा भयो, राति असिना नै बर्सेको रहेछ।
म त्यस्तै बुट्यान भूगोल जाँदैछु, जहाँ ओत लाग्ने ठाउँ कतै नभेटेर त्यसैमुनि छायाँहरू लुपुक्क हुन्छन्।
‘फ्लाइट एक घन्टा ढिलो छ,’ साथीको मेसेज आयो।
म त ढिलो छैन नि। हिमालमाथि छायाँ सर्काउँदै आउने जहाज पो ढिलो छ। अब पक्का भयो, साथी ढिलो आउनेछन्। उनले गोराहरूको सानो गोलो ढिलै ल्याउनेछन्।
केही बेर असिनाका थुप्रोमा उभिएर घडीको सुईको दिशामा बुट चलाएँ। असिनालाई सानामसिना पारेँ। सीमाहरू बनाउने, भत्काउने बुटले नै हो। कति त भन्छन् बुट विचारबाट चल्छ।
मैले शून्य विचार गरेको थिएँ, तर कच्याककुचुक परेका सानामसिना असिनाको गोलाकार चित्र बन्यो। प्रकृतिले बनाएको पृथ्वी गोलो छ, मानिसले बनाएको कुनै पनि देश त्यस्तो भकुण्डो छैन। लाम्चो, थेप्चो, भक्क फुलेको, सुकेको, तन्केको, बञ्चरोले दाग्दा उछिट्टिएको ठूटोजस्तो, अनेकथरी आकारप्रकार छन्।
म त्यस्तो आकारको देश उड्दै थिएँ, जसलाई पछिल्लोपल्ट एक जना गाइडले विश्व मानचित्रमा भाले भनेका थिए। पोथी भनेको भए यसपालि म त्यही ठूलो देशको अन्डातिर जाँदै थिएँ।
हो, चीनले तिब्बतलाई अन्डाझैं स्याहारेको छ। कहिले त लाग्छ, अन्डाझैं लुकाएको छ। एक्लै जान पाइँदैन, कम्तीमा पाँच जनाको समूह भिसा लिनुपर्छ र ल्हासा पुगेपछि पनि गाइड लिएर हिँड्नुपर्छ। कैलाश–मानसरोवर तीर्थ गर्न हामी नेपालीलाई एक्लै पनि हिँडेर जाने सुविधा भने छ। म पहिलोपल्ट तिब्बत त्यसैगरी गएको थिएँ। त्यही साथीसँग जसले भर्खरै मेसेज पठाएर हतार नगर्न सम्झाउँदै थिए।
एक्लै बुट बजार्दै ननस्टप नामको लोकल बसझैं हिँडाइ जारी राखेँ। म आफ्नो हतार कतै लगेर बिसाउन चाहन्थेँ, तर महानगरमा कतै बिसाउनी थिएन। यहाँ जो पनि घरबाट निस्केपछि कुनै पनि बेला कहीँ पनि अलपत्र पर्न सक्छ। कतै रम्य बगैँचा छैन, न त सुस्केरा फेर्न चौतारी नै। पैदल हिँडिराख्न पनि चोरझैं पल्याकपुलुक चनाखो भइरहनुपर्छ।
कुनै ढोका खुल्छ कि सहरको भाग्य अजमाउन भनी छापामार गति लिएँ।
एकाबिहानै काठमाडौं किन उठ्छ र? काठमाडौंलाई कहिल्यै केहीको हतार किन होओस्? सहरमा हिँड्नेहरूको सुस्त हाल नै यहाँ सधैंको फुर्सदको दसी हो। हामी फुर्सदका दास त होइनौं? यदाकदा यस्तो सोचेर म आफैंसँग झगडा गर्छु र तनाव मत्थर भएपछि महसुस गर्छु– दास भन्ने शब्द मेरो गलत शिक्षाबाट निसृत सोचाइ हो। वा, इतिहास डोर्याउन नसक्ने हाम्रो अकर्मण्यताबाट व्याप्त राष्ट्रिय मनोदशाको दोष हो। जेहोस्, बरू ज्ञानको भूपेरिवेष्ठिता भन्नु सभ्यतासम्मत हुन्छ कि?
भूपेरिवेष्ठित मानसिकताले हामीलाई यस्तरी संक्रमणकालमा गाँजेर राखेको छ, मानौं हामी मञ्जुश्रीभन्दा अघिदेखि कुवाको भ्यागुताझैं बसिरहेका छौं।
एउटा कफीसपको सिसे झ्यालभित्र आशाको त्यान्द्रो झुन्डिने गतिविधि देखियो। एक जना भाइ भुइँ पुछिरहेका थिए। मैले ढकढक गरेँ। पंखा घुमाएझैं हात हल्लाएर उनले बेलै भएको छैन भन्ने ईसारा गरे। निमेषभरमै अघि हल्लाएको हातको पंखा उल्टो दिशामा घुमाएर मलाई रोके। सायद साँढेको जुरोजस्तो मेरो रूक्स्याक देखेर उनलाई आफ्ना हजार सपनाको माया लागेर आयो। झ्याल सुस्तरी खोल्दै भने, ‘पछाडिको ढोकाबाट पस्दै गर्नोस् न त।’
म अपराधको कुनै नियत नभैकन पनि पछाडिको ढोकाबाट ब्याक इन्ट्री मार्न पुगेँ। पुछिँदै गरेको चिप्लो मार्बल भुइँमा जोगिँदै कुनाको टेबल पुगेँ, जहाँको धुलो नेप्किनले छाँटेर मोबाइल तेस्र्याएँ। कफी मेसिन चरर्र बज्न समय लागुञ्जेल वाइफाई पासवर्ड मागेर संसारसँग सम्पर्कको आफ्नो नित्यकर्ममा विलम्ब किन?
यात्रामा पढ्ने लामा सामग्रीहरू डाउनलोड गर्न खोजेँ। केही प्रिय लेखकहरू जसका दृश्यविन्यास र शब्दपटमा बादलसरी कल्पनाका आकार हुन्छन्। पढ्नु भनेको अरूका कल्पनामा आफ्ना पखेटा जोड्नु हो। यस्तो कुरा कसैले भनेका हुन् कि आफ्नै मनमा दुबोझैं उम्रिएको हो अल्मलिन्छु। त्यस्तो प्रायः भइरहन्छ। तैपनि कुरा त्यही हो।
केही प्वाँखहरू जोरजाम गरेपछि बिहानी हावामा बाकटे हान्न दुवै हात फैलाउँदै विमानस्थलतर्फ रवाना भएँ।
अब एक साताका लागि त्यो आखिरी कफी थियो। जहाँ जाँदै थिएँ त्यहाँ सुख्खा हुनेवाला थियो, कफीको तलतल त के, निद्रा झन् पातलो पर्ने पक्का थियो।
विमानस्थलतर्फ मुख बाउने झोलाहरू नै आज हाम्रा चिनारी हुन्। को कता जाँदै हो तपाईं झोला हेरेरै सोच्न सक्नुहुन्छ। गह्रुंगो रूकस्याक छ भने उच्च पहाडतिर हिँड्यो, सानो एकपाखे झोला छ भने साना नगरतिरको साइत हो। तालिम, सभा, सेमिनार, कार्यशाला, गोष्ठी वा सम्मेलनको नाम र मिति लेखिएका नयाँ–पुराना विकासे झोला पनि आजकल बर्गेल्ती देखिन्छन् विमानस्थलतिर।
पुन्टे झोलाहरू मध्यपहाडी सदरमुकाम ताकिरहेका हुन्छन् भने एक हातका औंलाले बेर्ने लेखापाल झोलाहरू उपमहानगरहरूतिर लक्ष्य गरिरहेका हुन्छन्। तपाईं कता जाँदै हुनुहुन्छ गाउँ, नगर, उपमहानगर वा महानगर? वा कतै परदेश, कुनै देश वा महादेश?
कुन टर्मिनलतिर तपाईंको पाइला पर्छ पहिल्यै अनुमान गर्न सकिन्छ। तपाईंको साथमा छायाँझैं उभिरहेको वा गुडिरहेको झोलाले तपाईंको परिचय दिन्छ। डोमेस्टिक कि इन्टरनेसनल? इन्टरनेसनल हो भने त तपाईं जाने फरेन् हो। कता जाने भन्दा फरेन् भन्नु सजिलो।
बूढाबूढी हुनुहुन्छ भने अमेरिका, बेलायत वा अस्ट्रेलियामा पक्कै तपाईंका नाति–नातिना जन्मिए। किशोर–किशोरी हुनुहुन्छ तपाईंले टोफेल तगडा गर्नुभयो। रातो टीका लगाएर मान्छे आकारको सुटकेस गुडाउँदै हुनुहुन्छ भने तपाईंको हातमा पासपोर्टसँगै श्रम स्वीकृतिको कागजात हुनुपर्छ।
नेपालीलाई फरेन् लैजान सबैभन्दा होड अरबी वायुसेवा कम्पनीहरू गर्दैछन्। हाम्रो भीड नियन्त्रण गर्न त्रिभुवन विमानस्थल प्रवेशद्वारभित्र प्रवेश नियन्त्रण गर्नुपरेको छ, प्रहरी परिचालन गर्नुपरेको छ। घरिघरि यस्तो लाग्छ, फरेन् सपना हाम्रो राष्ट्रिय महत्वाकांक्षा हो।
अमेरिकी, बेलायती, युरोपेली, अस्ट्रेलियाली, जापानी वायुसेवा कम्पनीहरूको तँछाडमछाड बढेको भए के विमानस्थलमा बाक्लो सुरक्षा घेरा चाहिन्थ्यो होला त? तलैदेखि? यसो सोचेर उभियौं न। फ्लाइट डिले छ ।
कुन वायुसेवा र कुन गन्तव्य हाम्रो राष्ट्रिय महत्वाकांक्षाका मापक नै त होइनन् कि? कि हुन्? किन नहोउन् त जब हाम्रा व्यक्तिगत आशाहरू दुस्साहस देखिन थाले। स्थानीय आकांक्षाहरूले आकार लिन पाएनन्। राष्ट्रिय आकांक्षाहरू तय हुन आएनन्।
आन्दोलित भयौं, साइनबोर्ड पुछपाछ र फेरफार नै हाम्रो राष्ट्रिय गौरवको आयोजना हुन पुग्यो। हाम्रो राष्ट्रिय चरित्र हुन पुग्यो।
प्रजातन्त्र आयो, जनताले सजिलै पासपोर्ट पाउने भए। हामी फेरि यिनै सडकमा कुल्र्यौं। हाम्रा कर्तल ध्वनिहरू यतै कतै कुनाकाप्चातिर रयल हुनसक्छन्। लोकतन्त्र आयो, जनतालाई श्रम इजाजत थपिदियौं। बन्धनहरूबाट हामी फुक्का भयौं र विश्व बजारतिर फाल हाल्न थाल्यौं।
फरेन् कम्पनीका एउटै रङका क्याप वा हाफ ज्याकेट लगाउनेहरूको लर्कोमा परिवारजनहरूका विदाइका क्षण सुरू हुन्छ। यस्तैमा सम्झना हुन्छ, पञ्चायतविरूद्व परिवर्तनको संगीत गर्दै गाउँघर घुम्ने गायक रामेशको भाका, ‘एक लश्कर भरियाहरू...।’
भरियाहरूको भूगोल तन्काउँदै हामी बाहिरिएका छौं। यस्तैमा मलाई सम्झना हुन्छ हालसालै पढेको ‘रेमिटल्यान्ड’ को मुख्य पात्र मुक्साम थेगिमको।
मुक्साम थेगिमले नौ वर्ष साउदीमा बसेर फर्किँदा एउटा टर्च लाइट ल्याएको रहेछ। त्यसकै उज्यालोमा साइकल गुडाउँदै ऊ झापाको दमकछेउ भाङबारीतिर रातविरात भौंतारिरहेको हुन्छ।
छोरी लिएर श्रीमती अर्कै घरजममा गइसकेकाले ऊ एक्लोपनवस एउटी महिलासँग लहसिन थालेको छ। ३९ वर्ष लागिरहेको छ। बेडरूममा उत्तानो परेर ‘नेपालमा लाईकीरा’ भन्ने पुस्तक पढिरहेको छ। सोच्दैछ, ‘बितेका नौ वर्ष म साउदी अरेबियामा नभएर यहीँ भएको भए यति बूढो हुने थिइनँ।’
श्याम सिंघकको यो उपन्यासमा ‘बिहानै खरानी रंगको बाक्लो बादल भुइँसम्मै’ आइपुग्छ। मुक्साम सोच्दैछ, ‘छोरीमान्छेले छोडेको पुरूष, बगरमा चरिरहेको बूढो गोरू र उदास हाडखोर चरा उस्तै हुँदा रहेछन्।’
उसकी प्रेमिकाको पनि त जीवन कहाँ लयबद्ध छ र? रूक्मिणी भन्छे, ‘कान्छा, तिमीले मलाई अर्ती दिएको कि चोट दिएको?’
मुक्साम ‘सूर्य अस्ताउन एक बित्ता बाँकी’ छँदैदेखि साथीसँग भट्टी पस्छ। साथीका बारेमा भन्छ, ‘ऊ निकै मातेको थियो। उसले मात्नुमा मेरो लगानीको प्रतिफल देखेँ। ऊ मातेकोले मलाई रमाइलो लागेको थियो। किनभने, उसले मेरो लागि मातेको थियो।’
मात्दामात्दै ऊ झन् एक्लिँदै गएको छ। रूक्मिणीको पनि त श्रीमान स्वदेश अर्थात् रेमिट्ल्यान्ड फर्किँदैछ। भन्छे, ‘कान्छा, तिमी धेरै रूनेछौ, तर दुःखको कुरा तिम्रो आँसु पुछ्न म हुने छुइनँ।’
घटनाहरू छैनन्। साधारण मानिसका जीवनमा घटनाहरू हुँदैनन्। परिवेश मात्र घटनापूर्ण हुन्छ। कुनै घटनाविना उपन्यासले फेरो मार्छ। पाठकलाई सुस्तरी सोचाइमा लुपुक्क पारिदिन्छ।
ज्योति जंगलको ‘मुक्त समय’ मा त्यस्तै एउटा कविता छ, ‘परदेशमा हरेक रातका निद्राहरू घरको छायाँमा आएर सुत्नेछन्।’
‘घरको छायाँमा आएर सुत्ने’हरूको लश्करमा म मिसिएको छु।
विमानस्थल व्यस्त छ। हाम्रा सोचाइ, आकांक्षा, सपना, प्रेम, आशा, उमंग, निद्रा, चैन, स–साना खुसी र स–साना संघर्ष अस्तव्यस्त छन्।
(क्रमश:)...