आज किन किन मन अशान्त, अस्थिर भैरहेछ। आफूलाई असहज र अशान्त महसुस गर्दैछु। हुन त हरेक मान्छेले हरेक पल केही न केही त महसुस गरिरहेकै हुन्छ, यस्तो हुनु हरेक व्यक्तिको जीवनका नियम नै हुन्। मलाई भने यो पटक अरू बेलाभन्दा अलि भिन्न द्वन्द्वहरू मनमा सल्बलाइरहेका छन्।
छ महिना पहिले शिवपुरीस्थित विपश्यना ध्यान केन्द्रमा गई दस दिने शिविर पूरा गरेर आएकी थिएँ। माघको जाडो अझ पानी परेर काठमाडौंका वरिपरिका डाँडाहरू हिउँले सेताम्मे थिए तर पनि मलाई सोचेको जस्तो धेरै जाडो लागेन। ध्यानको असरले होला, आरामले ध्यान गरेर तन मन शितल अनुभव गरेर फर्किएकी थिएँ। त्यही शितलताको लोभमा दोस्रो पटक पनि शिविरमा जानको लागि तयारी गरें।
शिविरमा पहिलो पटक भाग लिएपछि छ महिना पूरा गरेपछि मात्र फेरि दोहोर्याउन पाउने रहेछ। सोही बमोजिम छ महिना पूरा गरेलगत्तै समय लिएर गए।सायद आफ्नो मनोदशा, शारीरिक अवस्था, मौसम, समय, आदि इत्यादि कारणले होला पहिलो र दोस्रो शिविरमा केही भिन्न महसुस गरें।
काम चाहिँ मनलाई काबुमा राख्ने कोसिस गर्नु हो।
गुरू सत्यनारायण गोयङ्काले भन्नुभएको जस्तो धरतीमा आँखा खुलेदेखि सधैं बाहिरी संसारलाई मात्र हेर्ने बानी परेको हाम्रो मन आफूभित्र पसेर हेर्नै नमान्ने।आफूभित्रको आफूलाई सम्पूर्ण ध्यान लगाएर एकछिन मात्र हेर्न पनि कठिन पर्ने रहेछ।
आफूभित्रका सम्पूर्ण संवेदनाहरू नियाल्नका लागि पहिले त मन र शरीर दुवैलाई अनुशासनमा राख्न त जरूरी भयो, यसो गर्नका लागि बाहिरका अरू नयाँ खुराकहरूलाई नियन्त्रण गरियो। पहिले त परिवार समाज सबै छोडेर शिविरमा बस्न गइयो। त्यसपछि जाँदाजाँदै मोबाइल लकरमा राखियो, गएको बेलुकादेखि आर्य मौनमा बसियो, जो चाहिँ मुखले बोलेर या त इसारामा कुनै पनि माध्यमबाट भावनाहरू आदान-प्रदान नगर्नु हो।
यहीँबाट सुरू भयो जीवनलाई जगतबाट अलग राख्ने कला सिक्नलाई। अनि पाँचौं दिनबाट सुरू हुने 'अधिस्ठान' जो चाहिँ दिनको तीन पटक एक एक घन्टा आफू बसेको आसनबाट अलिकति पनि हलचल नगरी आँखा पनि नखोली बसिन्छ। नयाँ साधक साधिकाहरूको लागि त यो पनि निकै कडा अनुशासन हो।
सुरूका झण्डै चार दिन आफ्नो आएको, गएको सासलाई एक चित्त भई हेरिन्छ। त्यसपछि चाहिँ विपश्यना सुरू हुन्छ। यही अन्तरालमा आउने आफू भित्रका अनेकन भोगाइ, सोचाइ संवेदनाहरू उद्देलित भई कुनै मापक यन्त्रले नाप्न नसकिने गरी एकैपटक निस्किँदै गर्दा हुने अनुभूति निकै कठिनको हुने रहेछ जुन चाहिँ पछि गएर सुख अनुभूतिमा परिणत भयो। जुन सुकै बेला पनि बरालिरहने याने कि सपनामा समेत दौडिरहने मनलाई एक ठाउँमा टिकाउने काम ठूलो परिश्रम पर्ने अर्कै खालको अनुभूति महसुस गरें।
दसौं दिन बिहान दस बजेसम्मको ध्यानपछि साधक साधिकाहरूलाई आ-आफ्नो अनुभव आदानप्रदान गर्न दिइन्छ, त्यो समयमा धेरैजना भावुक पनि हुनुभएको थियो। दस दिनसम्म आर्य मौनमा रहेर अकस्मात कुरा गर्दा असहज पनि हुने।
संसारलाई तह लगाउँछु भन्नेहरू आफ्नो मनलाई एक चित्त बनाएर सारै सानो समयको लागि मात्र भए पनि आफ्नो मनभित्र पसेर एक ठाउँमा तहमा राख्ने कोसिस गर्ने हो भने विजयको परिभाषा केही हदसम्म बुझ्न सक्छ जस्तो लाग्यो।
तपस्या भन्नु नै कठोर काम भन्ने बुझिन्छ, गर्नलाई गाह्रो हो, तर आफू भित्रको आफूलाई अन्तर्मुखी भई एक चित्तले खोजेमा वास्तविक जीवन र बाहिरको जगतको फरक निरन्तरको अभ्यासले अनुभूति हुने रहेछ। जुन संसारलाई जसरी भोगिरहेका छौं, यसलाई केहीछिन मात्र अलग गर्न सकियो भने पनि वास्तविक जीवन के हो भनेर केही हदसम्म चिन्न सजिलो होला जस्तो लाग्यो। यसैलाई व्यवहारमा ल्याउन चाहिँ अलि अभ्यास गर्नैपर्छ। उडिरहने मनलाई बाँधेर राख्नै पर्छ।
जगतले वास्तविक जीवनको विधिलाई नै खलल गर्ने हुनाले सकेसम्म विधिलाई अनुशरण गर्न सके जीवनको वास्तविक मज्जा लिन सहज हुन्छ भन्ने लाग्यो। यस्तै यस्तै अनुभव बटुलेर केही दिनको लागि भए पनि मन हलुका भएको अनुभूति र ध्यानको विधि संगालेर घर फर्किएँ।