'धर्मो रक्षति रक्षित, प्रकृति रक्षति रक्षित, वृक्ष रक्षति रक्षित' अर्थात् धर्मको रक्षा, प्रकृतिको रक्षा र वृक्षको रक्षाबाट मानवको रक्षा हुन्छ।
यही विश्वासअन्तर्गत रक्षा बन्धनका अवसरमा 'वातावरण स्वयम सेवक समूह'ले शुक्रबार काठमाडौंको पाशुपत क्षेत्र, मृगस्थलीमा 'वृक्ष बन्धन' कार्यक्रम आयोजना गरेको छ।
बिहान साढे दस बजे स्वयम सेवक समूहका सदस्यहरू भेला भए। केही आमन्त्रितहरू पनि उपस्थित भए। बुटकहरू आए, स्वस्तिवाचन गरे। अनि सुरु भयो ‘वृक्ष बन्धन’ अर्थात् ‘रक्षा बन्धन’ सँगै वृक्ष बन्धन।
सहभागीहरुले केही रुखमा मन्त्रिएको डोरो सात फेरा बाँधेर वृक्ष बन्धन गरे।
श्रावण शुक्ल पूर्णिमाका दिन विधिपूर्वक मन्त्रिएको रक्षाबन्धन गुरुपुरोहितका हातबाट ग्रहण गर्नाले संकटहरुमा रक्षा मिल्छ भन्ने विश्वास हिन्दु धर्मावलम्बीहरूमा रहिआएको छ।
मानव र समस्त प्राणीको अस्तित्व रक्षाका लागि वृक्षको रक्षा अनिवार्य छ। वृक्ष नरहे मानव अस्तित्व पनि रहने छैन। यही तथ्य आत्मसात् गर्दै वृक्षको पनि रक्षा गरौँ भन्ने सन्देश प्रवाह गर्न वृक्ष बन्धन कार्यक्रम आयोजना गरिएको वातावरण स्वयम् सेवक समूहका एक सदस्य आनन्द भण्डारीले बताए।
उनका अनुसार यस्तो कार्यक्रम काठमाडौंमा पहिलो पटक आयोजना गरिएको हो। सुरुआत भने दुई वर्षअघि जनकपुरमा भएको हो।
पहिलो पटक मधेश प्रदेश वन निर्देशनालयका सहायक वन अधिकृत सुरेश शर्माले रक्षा बन्धनका दिन आफ्नो सक्रियतामा वृक्ष बन्धन कार्यक्रम आयोजना गरेका थिए।
यस वर्ष पनि जनकपुरको दूधमती नदी किनार र धनुषाधाममा यस्तो कार्यक्रम आयोजना गरिएको शर्माले बताए। उनी यसपालि मृगस्थलीमा सहभागी भए।
रक्षा बन्धन खासगरी तागाधारी हिन्दुहरूको पौराणिक परम्मपरा हो। रक्षा बन्धनको परम्परा सुरुआतबारे पौराणणिक ग्रन्थहरूमा फरक-फरक प्रसंग छन्।
श्रीमद्भागवत पुराणमा वामन अवतार लिएका भगवान विष्णु र दानवीर राजा बलीको प्रसंग छ। भविष्य पुराणमा स्वर्गका राजा इन्द्र र उनकी श्रीमती सचीको प्रसंग छ।
इन्द्र र सचीको कथामा मन्त्रले शक्तिशाली बनाइएको रेशमको धागो सचीले युद्धमा जान लागेका इन्द्रको हातमा बाँधिदिइन्। युद्ध थियो देवता र असुरुहरूका बीच। देवताहरू विजयी भए।
विष्णु र बलीको प्रसंगमा बली राजालाई भगवान विष्णु आफूले दिएको वरदानका कारण बलीसँग पातालमा बस्नुपर्ने भयो। विष्णुकी पत्नी लक्ष्मीले देवर्षि नारदको सल्लाहमा बलीलाई दाजु बनाएर राखी बाँधिदिइन् र विष्णुलाई पातालबासबाट जोगाइन्।
यी दुई प्रसंग फरक भए पनि दुवैको उद्देश्य संकटबाट रक्षा गर्नु थियो। यी दुवै प्रसंग एकै दिनका थिए, दिन थियो श्रावण शुक्ल पूर्णिमा। यिनै पौराणिक प्रसंगका आधारमा रक्षाबन्धन पर्व मनाउने परम्परा बस्यो भन्ने विश्वास रहिअआएको छ।
वृक्ष बन्धनका अवसरमा आयोजकहरूले केही विरुवा पनि रोपेका थिए।
वृक्ष बन्धनको प्रारम्भमा संक्षिप्त मन्तव्य प्रकट गर्दै डिभिजन कार्यालय, काठमाडौंका वन अधिकृत बद्रीकुमार कार्कीले श्लेषमान्तक वनको महत्व र यसको वर्तमान अवस्थाका बारे सहभागीहरूलाई जानकारी गराए। उनका अनुसार श्लेषमान्तक वनको पुनर्संरचना आवश्यक छ।
उनले जसले पनि, जहिले पनि, जहाँ पनि विरुवा रोप्ने तर त्यसको सुरक्षा बेवास्ता गर्ने चलन चलेको भन्दै असन्तुष्टि जनाए।
भण्डारीका अनुसार वातावरण स्वयम् सेवक समूहले वृक्ष बन्धन कार्यक्रम देशव्यापी बनाउने अभियान चलाउने छ।