एकजना मित्र विदेशी पाहुनासँग आफ्नो परिचय गर्दै थिए- 'माई नेम इज राजकुमार, मिन्स प्रिन्स।'
'वाउ! हाउ नाइस नेम,' विदेशीको सप्रराइजिङ प्रतिउत्तर थियो। लाग्यो नामले ठूलो अर्थ राख्दो रहेछ। अहिले जताततै कुकुर्नी कमिनी र फ्याउरेवादीको नागरिकताको मुद्धाले नामको सवालमा तरंग सृजना गरेको छ, बौद्धिक जमात जुर्मुराएको छ।
उत्पीडित समुदायले नामकै आधारमा कसरी विभेद खेप्छ र राज्य सत्ताले यस्ता विभेदको पोषण कसरी गर्छ भन्ने कर्तुत बाहिर आएको छ। आज फेरि नाममा के हुन्छ? सोचनीय विषय बनेको छ तर राज्य संरक्षित यस्ता विभेदका घटनाहरू नेपाली समाजमा उत्खन्न गर्ने हो भने अनगिन्ती भेटिन्छन्।
धर्मलाई आधार मान्ने हो भने पनि जन्मँदै कोही ठूलो र कोही सानो हुँदैन। मानिसलाई ठूलो र सानो उसको कर्मले निर्धारण गर्छ भन्ने धार्मिक संकथन छ। हिन्दु धर्मअनुसार जीवनमा गर्नुपर्ने दानहरू रक्तदान, श्रमदान, आर्थिक, गैह्र-आर्थिक, नैतिक दानसम्म दान गरेको देखेको छु मेरा पिताजीले जीवन कालमा।
पिताजीको समाज प्रतिको जिम्मेवार, उत्तरदायित्व, मानव प्रतिको प्रेम, धर्म प्रतिको आस्थाको उचाइको स्तर सम्मानयोग्य र उच्च छ। बिहानै उठ्नु, स्नान गर्नु, पूजाआजा गर्नु, नित्य कर्ममा विश्वास गर्नु, श्रम र कर्मप्रति इमान्दार हुनु मेरा पिताको जीवन दर्शन हो, आर्दश हो। मैले पिताजीको कर्म र विश्वासमा गर्व गर्छु, तथापि मेरा पिताजीको नाममा के छ? मैले यो आलेखमा उल्लेख गर्ने प्रयास गरेको छु।
विसं २००० मा पिताजी यस धर्तीमा जन्मिनु भयो। समाजमा विद्यमान राणा शासन, सामाजिक विभेद, दलित प्रतिको सामाजिक दृष्टिकोण, उच्च जातीय सामाजिक व्यवहारले कथित दलित परिवारमा जन्मेका सन्तानको इज्जतिलो नाम राख्नेमा सीमाहरू थिए, बन्देज थिए। समाजको जान्ने मान्नेकै निगाहमा हजुरबाले पिताको नाम भिखारी राखिदिनु भएछ। पिताजीले कर्मलाई नामसँग कहिल्यै जोड्नु भएन। म पिताको दानी व्यवहार देखेर उहाँको नाम दानवीर भए उत्कृष्ट हुन्थ्यो जस्तो सोच्छु तर राज्यले भिखारी नामको नागरिकता भिडाएको छ।
पिताजीले जीवनमा कसैको आश गर्नु भएन, बरु समाजको भरोसा बन्नुभयो। श्रममा विश्वास, परिवर्तनलाई आत्मसात गरी परिवार, समाज र राज्यप्रति जिम्मेवार र उत्तरदायी बन्नुभयो। अरुलाई प्रेरणा दिनुहुन्छ पिताजी, श्रममा विश्वास गर्हुनहुन्छ, लवाइ खवाइमा सौखिन हुनुहुन्छ। पिताजीको जीवनको एउटा आदर्श छ- बरु सबैले ईर्ष्या गरून् तर कसैले कठै नभनून्।
८० टेक्नै लागेका मेरा पिताश्री अहिले पनि श्रम गर्नुहुन्छ। सन्तानको भरमा अहिले पनि हुनुहुन्न उहाँ तर पनि आजीवन राज्यले भिराएको प्रमाणित भिखारी लोहारको नाममको नागरिताको आधारमा वृद्धभत्ता थापिराख्नु भएको छ। पिताजीप्रति हामी सन्तानहरू गर्व गर्छौ किनभने पिताले आफ्नै नाम विरोधी काम गर्नुभयो, जीवनलाई सेवाभावमा लगाउनु भयो।
पिताजीको बुझाइ पनि सेक्सपियरको जस्तै लाग्छ मलाई- नाममा के छ? पिताजी अगाडि जन्मेका सन्तानलाई बचाउन नसकेपछि स्थानीय पण्डितको सल्लाहमा हजुरबाले पिताजीको नाम भिखारी राखिदिएको रोचक कारण छ। रुढीवाद र अन्धविश्वास, विश्वासमा परिणत भयो। पिताजी अहिले ८० वर्ष टेक्दै हुनुहुन्छ, उहाँ आजीवन राज्यले दिएको प्रमाणपत्र र समाजमा भिखारी बनेरै बाँच्नु भएको छ।
नामका सम्बन्धमा महान् दार्शनिक कन्फुसियसले भनेका छन्- यदि नामहरू सही छैनन् भने भाषा चिजहरूको सत्यताअनुसार हुने छैनन्। अंग्रजी भाषाका विश्व प्रशिद्ध महान् लेखक विलियम सेक्सपियरले करिब चार शताब्दीअघि रोमियो र जुलियट लेखे। उनले महसुस गरे कि नामले खासै फरक पर्दैन।
विकसित समाज वा पश्चिमा समाजमा नामले खासै फरक पार्दैन पनि तर पूर्विय समाजमा नामले एउटा मानिसको सामाजिक पहिचान र व्यक्तिगत स्तर र व्यक्तिको स्वाभिमानलाई छर्लंग पार्छ। सामाजिक संरचनाअनुसार समुदाय र समुदायअनुसार नामको श्रेष्ठता निर्धारण गर्ने चेतना र संरचना सिंगो दक्षिण यसियाली समाजमा व्याप्त छ।
भारतीय चलचित्र 'माई नेम इज खान', 'आरक्षण' लगायतका कैयौं अदालती केसहरूलाई हेर्ने हो भने पनि नामले सिंगो दक्षिण यसियाली समाजको मनोविज्ञानमा नराम्रो असर पारेको प्रष्ट हुन्छ।
केरला उच्च न्यायालयको एर्नाकुलम बेन्चको फैसलाले भन्छ, नाम व्यक्तिको पहिचान र विशिष्टताको अभिव्यक्ति हो, समग्र नाम एउटा व्यक्तिका लागि सर्वश्व हो, सबैथोक हो। नामले एउटा व्यक्तिको विवेक, क्षमता र सत्यताको आत्मबोध गराउँछ।
उसो त नेपालजस्ता पछौटे सामाजिक मनोविज्ञान भएको देशको भाषाको विकास नै विभेदपूर्ण रुपमा विकास भयो। संस्कृति र भाषामा विभेद भएको समाजमा सबै क्षेत्रमा विभेद रहनेमा कुनै सन्देह रहन्न। अति विशिष्ट भाषादेखि अति निकृष्ट भाषाहरू विकास भएको समाज हो हाम्रो। श्रीमान श्रीमती, जोई पोई, महाराज, महारानी, हजुर, तपाईं, तिमी, तँजस्ता भाषिक शब्दले पनि समाजमा कुन व्यक्ति र कुन समुदायलाई कस्तो भाषाले सम्बोधन गर्ने भन्ने स्पष्ट भाषिक विभेद सृजना गरेको छ।
कर्म र क्षमता होइन, जात र धर्मको श्रेष्ठताको अधिनस्त रहेको छ समाज। राज्य, राजनीतिक दल र सामाजिक संरचनाहरूमा भूमिका दिने स्वघोषित श्रेष्ठ प्राणीले सिंगो मानव जगतको खिल्ली उडाउने गरी व्यवहार गरी रहन्छ समाज।
अलेक्जेन्डर द ग्रेटको भनाइ छ- 'म भेडाको नेत्वृत्वमा सिंहहरूको सेनासँग डराउदिनँ तर सिंहको नेतृत्वमा भेडाहरूको सेनासँग डराउँछु'।
यो वाक्य सरल छ तर यसलाई बुझ्ने र स्विकार्ने सवालमा महान् छ। एउटा सिंहले लाखौं भेडाहरूमाथि कसरी शासन गर्न सक्छ र हजारौ सिंहहरूले कसरी लाखौं भेडाहरूको अस्तित्वलाई नकार्छ भन्ने गम्भीर सवाल अलेक्जेन्डरको भनाइले जवर्जस्त खुलाइदिएको छ।
झट्ट हेर्दा लाग्छ सेक्सपियरले भनेजस्तै नाममा केही पनि राखेको हुँदैन, एउटा व्यक्तिको पहिचान मात्र हो। तर हाम्रोजस्तो धार्मिक, जातीय श्रेष्ठतावादले जकडिएको समाजमा नामको महत्व उच्च रहेको छ। हामीले विकास गरेको समाजले, हामीले विश्वास गरेको राजनीतिले, हामीले निर्माण गरेको राज्य संरचनाले पनि नागरिकलाई एउटै लेन्सबाट हेर्न सक्ने हैसियत र उदारता अहिलेको समाजवादउन्मुख समाजले पनि राख्न सकेको छैन।
नामका सवालमा हाम्रो सामाजिक विकास नै यसरी भयो कि नामले मात्र व्यक्तिको जात, वर्ग र क्षमता दर्शाउन सक्ने देखियो, नामकै आधारमा विभेद गर्न सक्ने असंहिष्णु चिन्तनको विकास भयो। यसैलाई राज्यले निःसन्देह ठप्पा मार्दिन्छ।
सामाजिक हेलोहोचो, उपेक्षा र अवहेलना विरुद्ध हजारौं वर्षदेखि संघर्ष गरिरहेको दलित समुदायले मानव भएकोमा आत्मसम्मान अहिलेको शताब्दीमा समेत प्राप्त गर्न सकेको छैन। कुकुर कामी, कुकुर्नी कमिनी, सिँगाने दमाईंले राज्यको नागरिकता प्राप्त त गरे तर मानवीय सम्वेदना र आत्मसम्मानले जीवनभरि शिर ठाडो पार्न सकेनन्। कैयौं दलित तथा जनजाति समुदायमा जन्मेका मानिसहरूको नाममा पीडा छ, विभेद छ, आत्मग्लानी छ, अवहेलना छ, उपेक्षा छ, हेलोहोचो छ।
यही विभेद, आत्मग्लानी, अवहेलना र हेलोहोचोबीच विकास भएका हाम्रा सामाजिक मूल्य, मान्यता, संस्कार र सामाजिक व्यवहारहरू नभत्काएसम्म एउटा नागरिकले अर्को नागरिकको सहअस्तित्व नस्वीकारेसम्म समतामूलक समाज निर्माणको नारा फगत नारा मात्र रहनेछन्।
त्यसकारण अहिलेको समाजले जसरी कुकुर्नी कामी, कुकुर कामी, फ्याउरे दमाईंजस्ता अघिल्लो पुस्ताका दलित जेष्ठ नागरिकले आत्मसम्मान गुमाए। समाज, राज्य र राज्यका जिम्मेवार निकायहरू व्यक्ति र नागरिकका प्रत्येक समस्यासँग एकाकार भई आत्मसम्मान सहितको समाज निर्माणको अभियानमा सहभागी बनौं।