विक्रम सिंघानियाले डेल्टा डिस्ट्रिब्युटर प्राइभेट लिमिटेडमार्फत् बाहिरबाट टायर ल्याएर यहाँ बेच्न थालेको २५ वर्ष भयो। यो काम अनुभवले करिब दस वर्षअघि नै उनलाई हौस्यायो। उनले आफैं टायर उत्पादन गर्ने सोचे।
यसनिम्ति उनले ग्रीन टायर्स प्रालि खोले। २०७३ सालमा प्लान्ट जडान सुरू भयो। उदयपुरको कटारीमा रहेको उनको उद्योग करिब नौ बिगाह जग्गामा फैलिएको छ। यो उनको आफ्नै जमिन हो।
२०७६ सालबाट उत्पादन बजारमा पुर्याउन थालेको सिंघानियाले जानकारी दिए। उनका अनुसार ग्रीन टायर्सले डेल्टा र शेर्पा गरी दुई ब्रान्डका टायर बजारमा ल्याएको छ। डेल्टा ब्रान्डमा दुई पांग्रेका टायर पाइन्छ भने शेर्पामा तीन पांग्रे र कृषि ट्र्याक्टरमा प्रयोग हुने टायर पाइन्छ।
'अहिले उपभोक्ताहरूले दुवै ब्रान्डका टायर अत्यन्तै रूचाएका छन्,' सिंघानियाले भने।
उद्योगले पहिलो चरणमा ट्युबलेस र दुईपांग्रे सवारीको टायर मात्र उत्पादन गर्दै आएको थियो। त्यसको दुई वर्षपछि तीनपांग्रेका टायर उत्पादन सुरू गरेको हो। अहिले उद्योगबाट स्कुटर, मोटरसाइकल, टेम्पो, हाते गाडा र हाते ट्र्याक्टरका टायर उत्पादन हुन्छन्।
उद्योगले महिनाको २५ हजार वटा टायर उत्पादन गर्न सक्छ। तर बजार माग कम भएकाले क्षमताअनुसार उत्पादन नभएको सिंघानियाले बताए।
'अहिले महिनामा दुईपांग्रेका १५ हजार वटा, तीनपांग्रेका ठूला टायर ८ सय र साना दुई हजार वटा उत्पादन हुन्छन्,' उनले भने।
ग्रीन टायर्सका देशभरि छरिएका ३० वटा डिलरमार्फत टायरहरू बिक्री हुन्छ। कम्पनीद्वारा उत्पादित टायर आइएसओ प्रमाणित भएको सिंघानियाले जानकारी दिए।
'नेपाल गुणस्तर चिह्न (एनएस) टायरमा छैन। विभागले अध्ययन गरिरहेको छ, दियो भने एनएस पनि लिन्छौं,' उनले भने।
आफ्नै देशभित्र टायर उद्योग हुनुपर्छ भन्ने उद्देश्यले टायर उद्योगमा लगानी गरेको उनी बताउँछन्।
'टायर दैनिक चाहिने सामान जस्तो भइसक्यो। यसको बजार राम्रो हुन्छ भनेर सुरू उद्योग खोलेका हौं,' उनले भने, 'यो निजी क्षेत्रको पहिलो टायर उद्योग हो।'
ग्रीन टायर्सलाई बजार खोज्न मुश्किल परेन। पहिल्यैदेखि आयातित टायर बेच्दै आएकाले वितरक डिलर थिए। तिनै डिलरहरूलाई आयातितसँगै ग्रीन टायर्स पनि बिक्रीका लागि दिइएको उनले बताए।
आफ्नो उत्पादनमा अहिलेसम्म कुनै समस्या नआएको दाबी पनि सिंघानियाको छ।
'भारतीय ब्रान्डका टायरसँग प्रतिस्पर्धा गर्ने गरी उत्पादन गरेका छौं,' उनले भने, 'हामी तीन/तीन महिनाको बजार समीक्षा गरिरहेका छौं। हाम्रो विस्तार र वृद्धि भइरहेको छ। वार्षिक २५ देखि ३० प्रतिशतको वृद्धि देखिन्छ। डिलर पनि बढाइरहेका छौं।'
ग्रीन टायर्स भारतीयभन्दा १५ देखि २० प्रतिशत सस्तो हुने पनि उनको दाबी छ।
टायर उत्पादनमा विभिन्न कच्चा पदार्थ आवश्यक हुन्छ। ती कच्चा पदार्थ बाहिरबाटै आयात गरिन्छ। रबरको केही मात्रा भने यहीँका किसानले गरेको उत्पादनबाट पूर्ति हुन्छ।
'झापाका किसानले अलिअलि लगाएका छन्। उनीहरूबाट किन्छौं। बाँकी त बाहिरबाटै ल्याउने हो,' उनले भने।
अहिले पनि ९० प्रतिशत बढी टायर बाहिरबाटै आउने भएकाले यसमा आत्मनिर्भर हुन धेरै समय लाग्ने उनी बताउँछन्।
सवारी साधनहरू दुईपांग्रे, तीनपांग्रे, चारपांग्रे र हेभी इक्विपमेन्ट गरी धेरैथरी छन्। त्यसमा प्रयोग हुने टायर पनि विभिन्न आकारकै हुन्छन्। यसले गर्दा टायरमा आत्मनिर्भर हुन समय लाग्ने उनको बुझाइ छ।
अहिले कम्पनीले दुईपांग्रेलाई प्राथमिकता दिएर टायर उत्पादन गरिरहेको उनले बताए। उनका अनुसार दुईपांग्रेका टायरमा कम्पनीले २५ प्रतिशत बजार हिस्सा ओगटेको छ।
'आगामी दिनमा ५० प्रतिशत बजार लिने योजना छ। यहाँ आयात हुने सबैजसो मोडलका दुईपांग्रेका टायर हामीले उत्पादन गरेका छौं,' उनले भने, 'बजार हिस्सा बढाउन प्रचार पनि भइरहेको छ।'
कम्पनीले दुईपांग्रे सवारीका शोरूमहरूसँग सहकार्य पनि गरिरहेको छ। टायर फिट गर्ने वर्कशपहरूलाई पनि नेपाली टायरबारे जानकारी दिएको छ।
'खासमा प्रयोगकर्ता आफैं जागरूक भएर नेपाली टायर प्रयोग गर्ने हो। नभए फिट गर्ने मान्छेले जे राखिदिन्छ त्यो हुने हो,' उनले भने, 'अहिले हामी प्रयोगकर्तासम्म पुग्ने गरी प्रचार गर्न सकेका छैनौं। ग्यारेज, शोरूम, वर्कशपमा गएर हाम्रो टायर डिस्प्ले गरिदिन, नेपाली टायर पाइन्छ भनेर बोर्ड राखिदिन अनुरोध गरेका छौं।'
यहाँ खुलेका दुईपांग्रे एसेम्बल गर्ने उद्योगसँग पनि आफ्नो टायर प्रयोग गर्न आग्रह गरेको उनले जानकारी दिए। सरकारले प्रयोग गर्नै पर्ने नीति ल्याए झनै सहज हुने उनको भनाइ छ।
'स्वदेशी उद्योग पनि फस्टाउँछ, उनीहरूको उत्पादनलाई पनि राम्रो हुन्छ,' उनले भने।
फरक फरक ब्रान्डका टायर प्रयोग गरिने हुदाँ कम्पनीले अन्य बहुराष्ट्रिय कम्पनीका टायर पनि उत्पादन गर्ने योजना बनाएको उनले जानकारी दिए।
'जसले यहाँ टायर बेचिरहेका छन्, उनीहरूको ब्रान्डको टायर हामीले यहीँ उत्पादन गर्न छलफल भइरहेको छ,' उनले भने, 'त्यसले अझै रोजगारी वृद्धि हुन्छ।'
टायर उद्योगमा सबैभन्दा बढी दक्ष जनशक्तिको समस्या रहेको उनको अनुभव छ। यहाँ टायर उद्योग अहिलेसम्म थप नखुलेकाले दक्ष जनशक्ति बाहिरबाटै ल्याउने गरिएको छ।
'मेसिनमा काम गरेकै मान्छे चाहिन्छ, त्यसैले बाहिरबाटै ल्याउँछौं,' उनले भने, 'बाहिरकाले यहाँका कर्मचारीलाई तालिम पनि दिन्छन्।'
अहिले उद्योगले तीन सय जनालाई रोजगारी दिएको छ। तीमध्ये ६० देखि ७० जना बाहिरका छन् भने बाँकी यहीँका हुन्।
कोभिडयता उत्पादनमा असर भने परेको छ। कोभिडले गर्दा दक्ष कर्मचारी घर फर्किए। पछि उनीहरू आएनन्। त्यसले गर्दा समयमा उत्पादन गर्न नसकेको उनले बताए।
टायरको उद्योग खोल्नभन्दा व्यापार गर्न नै सहज हुने उनको अुनभव छ।
सिंघानिया भन्छन्, 'अरूले उत्पादन गरेको आनन्दले बेच्न सकिन्छ। आफैं उत्पादन गर्न धेरै समस्या हुने रहेछ। कच्चा पदार्थको मूल्य दैनिक परिवर्तन हुन्छ, समयमा सामान पनि आइपुग्दैन।'
त्यस्तै ग्राहकलाई नेपाली उत्पादनबारे जागरूक गर्नु अर्को चुनौती हो। यो कर्तव्य उद्योगीको मात्रै नभएर सरकारले पनि हातेमालो गर्नुपर्ने उनी बताउँछन्। सरकारले सरकारी कार्यालयमा स्वदेशी उत्पादन प्रयोग गर्ने भने पनि त्यो कार्यान्वयनमा आउन नसकेको उनको भनाइ छ।
'उद्योगधन्दा खोलेर मात्रै हुँदैन, उत्पादन उपभोग हुन्छ कि हुँदैन भन्ने कुरा प्रयोगकर्तामा भर पर्ने कुरा हो। यहाँ प्रयोग भएन भने लगानी डुब्ने सम्भावना हुन्छ,' सिंघानियाले भने, 'टायर आयात निरूत्साहन गर्न सरकारको नीति हुनुपर्छ।'
आगामी ६ महिनाभित्र नयाँ प्लान्ट विस्तार गर्ने पनि कम्पनीको योजना छ। त्यसबाट थप ६ आकारका टायर उत्पादन गरिने उनले जानकारी दिए।
'नेपालमा आउने सबैजसो दुईपांग्रे सवारीका टायर हामीसँग छन्। कृषिमा प्रयोग हुने ट्र्याक्टरको पनि सबै छ,' उनले भने, 'अब आकार परिवर्तन भएर आएका सवारी साधनका लागि हामी थप उत्पादन गर्छौं।'
सम्पादकीय नोटः हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)