स्थानीय तहको निर्वाचन सकिएको केही महिना भयो। तपाईंहरूले पनि आफ्ना लागि जनप्रतिनिधिहरू चुन्नु भयो होला। जनप्रतिनिधि भन्नेबित्तिकै तपाईंहरूको दिमागमा को अथवा के आउँछ? उहाँको दैनिकी कस्तो हुन्छ होला?
म यहाँ दैलेख जिल्लाको एउटा स्थानीय सरकारको वडा तहकी महिला जनप्रतिनिधिसँग बिताएको एक दिनको बारेमा चर्चा गर्दैछु।
म केही समयदेखि यहाँको जनप्रतिनिधिहरूलाई सघाउने कामको जिम्मेवारी बहन गर्दै आएकी छु। सोही क्रममा एक महिला सदस्य देवकी थापा (नाम परिवर्तन) सँग उहाँको बारे सुन्न/बुझ्न उहाँकै घर जाने निर्णय गरेँ। धेरै पटक वडाको कार्यक्रममा भेटघाटपछि राम्रो सम्बन्ध कायम भएकोले उहाँले घर आउन बारम्बार निमन्त्रणा पनि दिइसक्नु भएको थियो। म र दुई सहकर्मीसहित सहकारीको बैठक स्थलतिर लाग्यौँ किनकि उहाँ त्यसमा उपस्थित हुनु पर्ने भएकोले हामीलाई उतै आउन सुझाउनु भएको थियो।
हामी त्यहाँ पुग्दा देवकीलगायत केही महिला तथा दुई पुरुषहरू घाम ताप्दै गफ गर्दै थिए। तीमध्ये एक पुरुषले हाम्रो परिचय पनि मागी भ्याए र पुन: गफमा तल्लीन हुन थाले। हामी केहीबेर उहाँहरूको गफ सुनिरह्यौँ। आधाजसो त उहाँहरूले बोलेको बुझिएन पनि। आफू मध्यपूर्वी तराईमा जन्मिएर लामो समयदेखि काठमाडौँमा बसोबास गरिरहेको हुनाले कर्णालीको भाषा बुझ्नमा केही कठिनाइ भैरहेको थियो।
देवकी थापाले बैठक सकिएपछि अब जाउँ है भनी हामीलाई अघि लगाउँदै उकालोतिर हिँड्न भन्नुभयो। एक जीर्ण प्राथमिक विद्यालयको प्राङ्गण हुँदै हामी उहाँको घरतर्फ लाग्यौँ। लगभग १० मिनेट जति हिँडेपछि उहाँको घर पुग्यौँ।
घर साह्रै आकर्षक रहेछ। घर देख्ने बित्तिकै, 'आहा! कति राम्रो घर' भन्दै आँगनतिर लागेँ। माटोले लिपेको घर, रातो माटो र सेतो रंग, अनि घरलाई थाम्न अगाडिपट्टि बनाइएका खम्बाहरूमा पोतिएको निलो रंगको संयोजनले घर साह्रै खुलेको थियो। आँगनमा ढुङ्गा ओछ्याइएको र त्यसमाथि रातै माटोले लिपिएको। पहाडका यस्ता घर मलाई असाध्यै मनपर्छ।
उहाँको दुई दाजुभाइको परिवार एकै ठाउँमा बस्नु हुँदो रहेछ जुन कुराले मलाई केही अचम्मित पार्यो। घर अलग-अलग तर बीचमा एउटै साझा भान्छा अनि ६-७ सिँडी तल एउटा धारा। एक छेउमा दुई भैँसी र दुई बाख्रा थिए। एउटा भैँसी भर्खरै ब्याएको एक हप्ता मात्र भएको रहेछ अनि भैसी बाँध्ने तलतिर करेसाबारी थियो। घर वरपरको सबै कान्ला र भिराला जग्गा आफ्नै रहेछ। उहाँको घर वरपर अरु २-४ घर मात्र थिए। सानो चिटिक्क परेको गाउँ। यो सबै देख्दा मलाई सानो कक्षामा पढेको कुनै रमाइलो कथाको दृश्यमा पुगेको भान भइरहेको थियो।
हामी पुगेको केही समयपछि उहाँ भान्छामा पुगेर आगो जोर्न थाल्नु भयो र खाजा बनाउने तरखरमा लाग्नु भयो। आलु काट्न हामीले पनि सहयोग गर्यौं।
हामी उहाँको सासूआमासँग गफ गर्न थाल्यौँ। बुहारी र नातिनीहरूलाई पढ्न, लेख्न र राजनीतिमा लाग्न सधैँ अभिप्रेरित गरिरहने उहाँ भन्दै हुनुहुन्थ्यो, 'पहिला आफूले एक अक्षर पढ्न पाइएन। अब अहिले यति सुविधा हुँदा त पढ्नु पर्यो नि!'
करिब ८० वर्षकी भए पनि उहाँको सोच पुरातन महिलावादी थिएनन्। उहाँको सोच र शालीनताले साह्रै मन छोयो।
मलाई उनले लगाएको माडवारी र बुलाकी असाध्यै राम्रो लाग्यो। 'फोटो खिचौँ है आमाको' भनेर सोध्दा, 'म अरु गहना पनि लगाएर आउछु है' भनी भित्र जानुभयो। अनि लुगा पनि फेरेर चिटिक्क परेर आउनुभयो। तिलहरी र जन्तर पनि लगाउनु भएछ। उहाँको सिंगल अनि उहाँसँग बसेर धेरै फोटाहरू लियौँ।
उहाँले टीका अनि रातो र हरिया चुरा पनि लगाउनु भएको थियो। नयाँ लुगा र गहनामा आमा साह्रै राम्री देखिनु भएको थियो। यो सबै देखेर बाजे चाहिँ कता हुनुहुन्छ त भनेर सोधेँ। तर बाजे त चार वर्षअगाडि नै बितिसक्नु भएको रहेछ। मेरो अहिलेसम्मको अनुभवमा विधवा महिलाले आफ्नो श्रीमानको मृत्युसँगै चुरा, पोते र सिन्दुर पखालिएको देखेको थिएँ तर उहाँ श्रीमानको मृत्युपश्चात पनि सिन्दुरबाहेक बाँकी सबै श्रृंगारका सामग्री प्रयोग गर्नु हुने रहेछ। यो थाहा पाएर मलाई खुसीका साथै आश्चर्य पनि लाग्यो।
एकैछिनमा देवकीले चामलको रोटी, तरकारी र दही लिएर आउनु भयो। खाजा साह्रै मिठो थियो। हामीले खाजा खाएको केही समयमा उहाँकी जेठी छोरी अफिसको काम सकेर र उनका भाइबहिनीहरू विद्यालयबाट सँगै आइपुगे। उहाँले सबैलाई खाजा दिनुभयो। उनी र देउरानी भएर खेतीपातीको काम गर्ने, बच्चा पढाउनेलगायत सारा घर सम्हाल्ने काम गर्दा रहेछन्। दाजुभाइको पानी बाराबार भएको धेरै दृश्यको साक्षी म दुई दाजुभाइको परिवार यसरी मिलेर बसेको देख्दा केही अचम्मित थिएँ।
देवकी तथा उहाँकी देउरानीको गरी जम्मा ९ जना बच्चाहरू रहेछन्। ३ जना सुर्खेत बसी पढ्ने। ठूली छोरीको भर्खरै पन्ध्र दिनअगाडि मात्र विवाह भएको तर जागिर यहि गाउँपालिकाको वडा कार्यालयमा भएकाले माइती नै बस्दी रहिछन्। निजामती सेवामा आएपश्चात दुई वर्ष सुर्खेत बसी काम गरेकी उनी वडाको सव-ओभरसियरको रुपमा काम गर्छिन्।
अहिले ठेक्कापट्टाको काम गर्ने देवकीका श्रीमानको राजनीतिमा सक्रिय संलग्नता रहेछ तर उनका श्रीमानले टिकट नपाएको कारणले मात्र देवकीले पहिलो स्थानीय सरकारमा आउने अवसर पाएकी भन्ने कुरा थाहा भयो। 'संघीयता आएर मात्र महिलाहरू यो ठाउँमा पुगेका हुन्। बुढाले टिकट नपाएर मात्र मैले पनि चानस पाको हो,' उनले भनिन्।
देवकीको दैनिकी हेर्दा, बिहान उठेदेखि राति ओछ्यानमा नजाँदासम्म मुस्किलले फुर्सद हुने रहेछ। झिसमिसे बिहानीमा उठेदेखि घरधन्दा अनि दिउँसो प्रायः वडा र पालिकामा व्यस्त हुने रहिछन्। उनी सधैँ बिहान साँढे पाँच बजे नै उठेर नित्यकर्म सकेर अन्य काममा लाग्छिन्। पहिला भैँसी र बाख्रा सार्ने त्यसपछि भकारो सोहोर्ने अनि भैँसी र बाख्रालाई घाँस दिन्छिन्।
त्यसपश्चात चिया-नास्ता बनाउन आगो जोर्न तिर लाग्दी रहिछन्। कुचो लगाउने र घर पोत्ने चाहिँ देउरानीको काम रहेछ। बिहानको चिया-नास्ता र खानापछि बच्चाहरूलाई स्कुल पठाएर मात्र आफूले खाना खाने रहिछन्। त्यसपछि भान्छाको कामधन्दा सकेर खेतबारीको काम गर्न, स्याउला, दाउरा लिन वन जाने गरेको उनले बताइन्।
'वनबाट आइनपुग्दै केटाकेटीहरू स्कुलबाट आइपुग्ने बेला हुन्छ अनि खाजा बनाउने हतारो। भैँसी, बाख्रालाई घाँस र पानी पनि दिनै पर्यो,' उनी थप्दै गईन्।
केटाकेटी तथा सासूआमालाई खाजा दिइसकेपछि भाँडा माझ्ने र अरु सरसफाइको काम सक्ने पनि उनको जिम्मामा पर्छ। खाजा खाइसकेपछि केही बेर सुस्ताउन नपाउँदै बेलुकाको खाना बनाउन हतारो हुन्छ। फेरि भैँसी र बाख्रालाई गोठभित्र सारेर खाना बसाउन तिर लाग्छिन्। बेलुकाको खाना बनाएर खाइसकेपछि सबै केटाकेटीले आफूले खाएको थाल धुने रहेछन् र बाँकीका भाडाहरू धुने जिम्मा उनको देउरानीको रहेछ।
उनी चाहिँ सबैलाई दूध तताएर दिने अनि बाँकी भएको दूध ठेकीमा हालेर भान्छाको सरसफाइ सकेर मात्र बल्ल विस्तरामा जाने रहिछन्।
बिहान उठेदेखि साँझसम्म घरधन्दाबाट दुवै देउरानी-जेठानीले मुस्किलले फुर्सद पाउँदा रहेछन्। देउरानी पनि बच्चाहरूसँगै खाना खाएर एक घण्टा हिँडेर लेकको गोठमा जाने रहिछन्। लेकको खेतमा भएका दुई हल गोरु हेर्ने अनि खेतबारीको काम सकी गोरुलाई घाँस र दानापानी दिएर साँझ मात्र घर फर्किने। उहाँहरू दुवैजनाको दैनिकीमा भूमिका केही फरक भए तापनि सहज भने रहेनछ।
अब कुरा गरौँ उनको राजनीतिक दिनचर्याको। वडा तथा पालिकामा बैठक वा अन्य कार्यक्रम हुँदा उनी बिहानको खाना खाइवरी भान्छाको कामधन्दा सकेर आफ्नो सामाजिक तथा राजनीतिक कार्यमा संलग्न हुने रहिछन्।
उनले भनिन, 'अहिले त केटाकेटीको परीक्षा छ, त्यसैले छिट्टै आउँछन् र अलि-अलि घरको काम पनि सघाउँछन्। त्यही भएर त केही फुर्सद पाएकी छु। यिनीहरूको स्कुल लाग्दा त बिहानै गई जान्छन्। साँझ मात्र घर आउँछन्। अहिले हिउँद महिना भएकोले पनि खेतबारीमा त्यति काम छैन। बर्खामा त भ्याई नभ्याई हुन्छ। वडा र पालिकाको कार्यक्रममा सहभागी हुन त कि घरखेतको काम छोडेर कि अर्को दिन गर्ने गरी मिलाउनु पर्छ।'
उनी गुनासो गर्दै थिइन्, 'घरको कामले फुर्सद नै पाइँदैन। कहिलेकाहीँ त घर परिवार र राजनीति दुवैलाई सँगै लग्न गाह्रो पर्छ। तैपनि सबै कामधन्दा भ्याएर पनि अहिलेसम्म कुनै मिटिङ र सभाहरू छुटाएकी छैन। बरु मिटिङहरू समयमै सुरु भइदिए सजिलो हुन्थ्यो। ११ बजे मिटिङ भनेर हतार-हतार वडा/पालिका पुग्यो १ बजे पनि सुरु हुँदैन। घरमा भैँसी, बाख्रा भोकाए कि, अल्झिए कि भनी ध्यान जति सबै घरतिर हुन्छ।'
उनले अझ थप्छिन्, 'पुरुष सदस्यहरूलाई धेरै सजिलो छ। न घर जान नै हतारो न त घरधन्दा नै गर्न परोस्। उहाँहरूले जस्तै आफ्नो पूरा समय राजनीतिमा दिन सक्ने भए त अझ धेरै काम गर्न सक्थेँजस्तो लाग्छ।' उनी वडा सदस्य भए पनि पालिकाभरिमा महिलाहरूमध्ये बोल्नलाई अब्बल मानिने रहिछन्। केही पुरुष सदस्यहरूले समेत 'तपाईं त बोल्नुहुन्छ है, तपाईंले बोलेको देखेर हाम्रो नि आँट बढेको छ' भनी सुनाउँदा रहेछन्।
'पहिला वर्षहरूमा त धेरै गाह्रो भयो। पढाइ लेखाइ पनि खासै छैन। सुरुका दुई वर्ष त जहाँ साइन गर भन्यो त्यहीँ साइन गर्दै बित्यो। तर विस्तारै सिक्दै गएँ। अहिले त धेरै अनुभवी भइसकेँ। गर्न सक्छु जस्तो लाग्छ।'
अझ मतिर पुलुक्क हेर्दै थपिन्, 'तपाईंको कुरा सुन्दा त अब वडाध्यक्षमा नै उठ्न सक्छु कि भन्ने आँट आएको छ।' म पनि उहाँलाई हेर्दै हाँसेँ।
'यो ५ वर्षमा धेरै कुराको अनुभव गर्न पाइयो। पढाइको महत्त्व कति रहेछ भन्ने कुरा त झन् राम्रोसँग बुझेँ। उस बेला पढ्न पाएको भए जनप्रतिनिधिको रुपमा आफ्नो भूमिका अझ राम्रोसँग निभाउन सक्थेँ जस्तो लाग्छ। आफूले नपढेको भएर नै अहिले छोराछोरीहरूलाई पढ्न धेरै प्रोत्साहित गर्छु। मेरी ठूली छोरीले सरासर पढेर ओभरसियर सकाएर पहिलो चोटिमा नै लोकसेवामा नाम निकाली। २ वर्ष काम पनि गरी। यसपालि २३ वर्षको उमेरमा विवाह गरिदियौँ।'
१३/१४ वर्षमै भागी विवाह गर्ने र परिवारले पनि स्वीकार्ने यहाँको चलन नै रहेछ। बहुविवाह र सम्बन्ध विच्छेदका घटनाहरू पनि धेरै रहेछन्। देवकी थप्छिन्, 'अर्की छोरीले २५ (लामो लय हालेर) वर्षसम्म पढ्छु भनि भने पनि पढाउँछौँ।' २५/२६ वर्षसम्म छोरी मान्छे विवाह नगरी बस्नु भनेको धेरै ठूलो कुरा रहेछ, लगभग असम्भव।
खाना खाएपछि अँगेनो नजिकै बसेर गफ गर्दैगर्दा उनकी सानी छोरी प्रमिला (नाम परिवर्तन) को एउटा घत लाग्दो कुरा सुन्यौँ। मलाई उनको कुरा गर्ने शैली पनि साह्रै मन पर्यो। प्रमिलाले अहिलेसम्म आफू महिनावारी हुने गरेको कुरा घरमा भनेकी रहिनछिन्। अहिले चौध वर्षकी उनी कक्षा ९ मा पढछिन्।
'अब नछुने भएको भन्दै नभनेपछि कसरी थाहा पाउनु? हेर्न मिलेन!' देवकीले हाँस्दै भन्नुभयो।
पहिलो पटक चाहिँ कक्षा आठमा हुँदा महिनावारी भएकी रे। प्रमिलाकी दिदीले थपिन्, 'यसलाई त पेट पनि दुख्दैन अनि घरमा कसैलाई थाहा हुँदैन। मेरो त पेट दुख्ने भएकाले सबैलाई थाहा भइहाल्छ।'
म पनि क्षेत्री परिवारमा जन्मिएको र सानैदेखि महिनावारी हुँदा भान्छा र पूजाकोठामा जान नहुने, दाइ र बुवालाई छुन, हेर्न नहुने आदि इत्यादि सुनेर र भोगेर ठूलो भएँ तर प्रमिलाको जस्तो आँट त कहिल्यै आएन। प्रमिलाको आत्मविश्वासले मलाई पनि हौस्यायो। उनले महिनावारीलाई कति सजिलै बेवास्ता गर्दै कुरीतिलाई चुनौती दिएकी!
जाडोको समय र हामी पनि भएकोले होला सबै जना अँगेनोको वरिपरि गफ गर्दै धेरै बेरसम्म बसिरह्यौँ।
भोलिपल्ट बिहान, प्रमिलाकी साथी आफ्नो समस्या उनकी आमालाई भनिदिन आग्रह गर्दै घरैमा आएकी थिइन्। कक्षा ९ मा कृषि सम्बन्धी प्राविधिक विषय पढिरहेकी उनलाई अहिले विवाह गर्न मन रहेनछ तर घरका सदस्यहरूले विवाहका लागि करकाप गर्दै रहेछन्।
प्रमिला भन्दै थिइन्, 'यो महिना जन्म महिना भएर मात्र विवाह नभएको, अर्को महिना त गर्दिन्छन् होला।' जनप्रतिनिधिहरूलाई सुनाउँदा विवाह रोकिन्छ कि भनेर निकै आशावादी देखिन्थिन् उनी।
समुदायका यस्ता विवादहरू मिलाउन कत्तिको गाह्रो/सजिलो रहेछ त भनि प्रश्न गर्दा देवकी भन्छिन्, 'जनप्रतिनिधिको रुपमा कतिपय समुदायका झैँझगडा मिलाउन जाँदा आफैँ नराम्रो भएको छु। पहिला एकचोटि पनि बालविवाहको केस आएको थियो। उक्त बालिकाको अभिभावकलाई सम्झाउन खोज्दा- मेरो छोरीको विवाह भाड्न खोजेको भनेर उल्टै आरोप लगाए। यस्ता समस्या समाधान गर्न खोज्दा आफै बैरी भइन्छ, त्यही पनि आफ्नो कर्तव्य त पूरा गर्नु परिहाल्यो। गाह्रो छ हामीलाई काम गर्न पनि।'
स्थानीय सरकारले महिला सदस्यहरूलाई अवसरहरू प्रदान गरेको छ र त्यसको साथसाथै चुनौतीहरू पनि थपिदिएको छ। केही सुविधा र थोरै अधिकार दिए पनि निर्णय गर्ने ठाउँहरूमा पुरुषकै एकाधिकार कायम छ। महिलाहरूको दोहोरो भूमिका, घर-व्यवहार र जनप्रतिनिधिको रूपमा कर्तव्य निर्वाह गर्नु पर्ने भएकाले कम्तीमा यस भेगमा केही अपवादबाहेक प्रायः सबैले कठिनाई भोग्नु परिरहेको छ।
देवकी थापाको परिवारसँगको एक दिने बसाइले उनको दैनिकी मात्र नभएर उनको सोच, घरेलु महिलाको भूमिका, उनका परिवार र उनको जनप्रतिनिधिको भूमिकाका साथै उनले भोगेका चुनौतीहरू, समय व्यवस्थापन, तथा समग्रमा दैलेख जिल्लाका मानिस तथा उनीहरूको चालचलन र संस्कारहरूको बारेमा समेत नजिकबाट नियाल्ने अवसर मिल्यो।