कटहरी सबस्टेसन सोमबारबाट संचालनमा आएको छ। लामो समयसम्म दुहबी–कटहरी ३३ केभी प्रशारण लाईन विवादमा थियो।
मोरङ जिल्लाको कटहरीमा निर्माण गरिएको सबस्टेसन तयार भएपनि संचालन हुन सकेको थिएन। उक्त लाईन संचालन गर्ने प्रमुख स्रोत दुहबी १३२ केभी ग्रिड सबस्टेसनबाट कटहरीसम्म ३३ केभी लाईन पुर्याउने काम थियो।
लाईन निर्माणको क्रममा मोरङको ग्राम थान गिदनियाका स्थानीय बासिन्दाबाट विवाद उत्पन्न भई काम रोकिएको थियो
नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय, वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत रहेको सो सबस्टेसन र लाईन निर्माणको काम भारतिय निर्माण कम्पनी ए टु जेड ईन्फ्रा लिमिटेडको नेपाली सहायक निर्माण कंपनी जयदुर्गे इन्जिनियरिङ र त्रिपुरेश्वर कण्डक्टर कम्पनीले गरेको हो।
दुहबी ग्रिड सबस्टेसनदेखी कटहरीसम्म १७.२ किमी ओभरहेड लाईन र ५.५ किमी भुमिगत लाईन निर्माण गरी जम्मा २२.७ किमि लाईन नो लोडमा संचालन गरिएको नेपाली निर्माण व्यवसायी जयदुर्गे इन्जिनियरिङ र त्रिपुरेस्वर कण्डक्टर कम्पनीका डाईरेक्टर सागर लुँईटेलले बताए।
लुँईटेलकाअनुसार कटहरी सबस्टेसन संचालनमा आएपछि उक्त क्षेत्रको भोल्टेजको गुणस्तरमा उल्लेखनिय सुधार हुनेछ।
कटहरी सबस्टेसन पूणरुपमा संचालन गरी त्यहीबाट ११ केभी फिडर वितरण गर्न बिराटनगर वितरण केन्द्रसँग समन्वय गरी फिडरको वितरण प्रणाली संचालनको काम तीव्र रुपमा अघी बढाउने वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना बिराटनगर डिभिजन प्रमुख शैलेश सापकोटाले बताए।
यसबाट घरायसी, औद्योगिक, व्यापारिक लगायत सबै क्षेत्रले स्तरीय विद्युत सेवाको उपभोग गर्न पाउँने उनको भनाइ छ।
विद्युत भोल्टेजस्तर सुधार एवम् मागअनुसारको विद्युत् वितरण गर्नको लागी नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैङ्कको सहयोगमा देशैभरी विभिन्न प्रकारका सबस्टेसन निर्माण र लाईन निर्माणको काम गरिरहेको छ।