उतिबेला एसएलसीमा राम्रै नम्बर ल्याइयो। सबैले साइन्स पढ भन्थे तर सरकारी स्कुल र नेपाली माध्यममा पढेको साइन्स पढने त आँट कहाँबाट ल्याउनु अब। व्यवस्थापन नै पढियो र प्लस टु मा पनि डिस्टिङसन हानियो। पढेको त व्यवस्थापन हो नि तर जिन्दगी चैँ व्यवस्थापन गर्न खै जानिएन कि सकिएन, किटेर भन्न सक्दिनँ म।
सबैले राम्रै पढ्न पर्छ तैंले, तैं त होस् पढ्ने भन्थे क्लासमा पनि। अनि यता 'सिए' तिर आइयो र जिन्दगी एक चौथाइसम्मै बाँचियो। अहिले घर जाँदा त्यै घरबाटै ल्याएका पुराना झोलामा एक भारी किताब लिएर जान्छु। जानेबित्तिकै भाइ तल बजारसम्मै लिन आउँछ, उज्यालो मुहार लिएर। उसको मुहार देखेर मेरो फुङ्ग उडेको अनुहारमा पनि अलिकति चमक देखापर्छ।
केही नाइँनास्ती नगरी मेरा एक भारी किताब बोकेर घर लैजान्छ। सायद अलिकति आश राख्दो हो। सोच्दो हो के ल्याइहोला दिदीले यति धेरै, मलाई पनि केही छ कि। आशाहरु सबै निराशामा परिणत हुन्छन् उसका। अनि भन्छ, 'कति पढ्छेस के, ह्याँ मेरो कोठा साघुँरो हुन लाइसक्यो तेरा किताबले गर्दा। तेरा दस कक्षादेखिका किताब छन् मेरा कोठामा, क्यार्नी होस धेरै पढेर हँ?'
उसका कुरा सुनेर मन झसंग हुन्छ। साना औंला समातेर टुकुटुकु हिँड्न सिकाएको भाइ, मैले घर छोड्नेबेला तोतेबोलीमा दिदा भन्थ्यो मलाई।
'आमा दिदाले रेडियो भुकुल्ल पारी' भन्थ्यो। आधा मन मारेर स्कुल पुर्याउनुपर्थ्यो। जान्नँ भनेर मरिहत्ते गर्ने। समय कति चाँडो बितेछ, आज ऊ मेरै अगाडि मजासँग धोद्रो स्वरले बोलिरहेथ्यो। नाकमुनि जुँगाका रेखी बसिसकेछन्। घरको सबैभन्दा सानो मान्छे सबैभन्दा अग्लो भएछ। अझ विशेष त सानै सोचेको भाइ परिपक्व भएछ।
झुलुक्क कताबाट आमा आउनुहुन्छ र भन्नुहुन्छ, 'अहो! बाबु आइछ नि, किस्नेका बा हेर त।'
पछाडि आउनुभएका बा मलाई भन्नुहुन्छ, 'बाबु कतिबेला आयौ त नि, यता त गर्मी छ बाबु। ए किस्ने, त्याँ ठेकीमा दही छ, पानी बनार ले, सप्पैले खाम।'
भाइ पानी लिन जान्छ। म बालाई हेर्छु। बा शिरको टोपी झिकेर अनुहार पुछ्नुहुन्छ। कपाल सेतै भैसकेछन्। अनुहारमा धेरै मुजा परिसकेछन्। बाको आस्कोट त्यही हो जुन मैलै घर छोड्दा लगाउनुहुन्थ्यो। मन अमिलो भएर आउँछ।
फेरि आमातिर हेर्छु। आमाको निधारमा हुने ठूलो टिका आज पनि त्यस्तै छ। अनुहारमा अलिअलि बुढ्यौलीका रेखा देखापर्न थालेछन्।
'बाबु सन्चै आयौ नि,' आमा भन्नुहुन्छ।
'अँ, आमा राम्रै आएँ,' अलिकति मुस्कान छर्न खोज्दै मनलाई सम्हाल्छु म।
छोराछोरी पढाउन बाआमाले गरेका दुःख देखेर मन कुँडिन्छ। बाको त्यो मैलौ आस्कोट फेरिदिन मन छ। आमाको मैलो चोलीको सट्टा नयाँ चोली किनिदिन मन छ।
भाइलाई भन्न मन छ, 'तेरो दिदी छ नि, किन पिर गर्छस्।'
तर सोचेजस्तो कहिले पो भाथ्यो र। सँगै कक्षा पढेका साथी धेरै त अमेरिका, अष्ट्रेलिया छन्। राम्रोसँग पढ्न नसकेका पनि खाडी गएर भए पनि प्रगति गरेकै छन्। आफूलाई सम्झेर ल्याउँदा पढाइ राम्रो किन गरेछु भन्ने हुन्छ अचेल।
पढाइ छोडेर जागिर खाउँ, आजसम्म जति गर्नुथ्यो गरिसकेँ। अब के पढाइ बीचमै छोडम् जस्तो लाग्छ। जागिर नखाउँ त बाआमाको दुःख देखेर मन कुँडिन्छ। लाग्छ मेरो पढाइ ठिकै मात्र भएको भए पनि अहिले त्यही आमासँगै मेला गइरहेको हुन्थेँ होला। जे भए नि उहाँहरू सँगै त हुन्थेँ। दुःख बाँडेर लिन्थेँ जस्तो लाग्छ। सुनका थैला पोल्टामा राखिदिन नसके पनि।
हो धेरै पढेर पनि म खुसी छैन आज। मलाई म औषत विद्यार्थी भइदिएको भए भन्ने लाग्छ। पढाइ र सफलताले मात्र जिन्दगीमा खुसी मापन हुँदो रहेनछ।
त्यसैले धेरै नम्बर ल्याउनु मात्र ठुलो कुरा होइन। ठुलो त तपाईंको खुसी हो। 'जिपिए' कम ल्याए पनि इच्छाशक्ति छ भने आफू बन्न चाहेको मानिस मजाले बन्न सकिन्छ। एसइइ एउटा लेखेर दिने परीक्षा मात्र हो। मुख्य परीक्षा त जिन्दगीले हरपल लिइरहन्छ हामीबाट।
पढाइमात्र सबथोक हैन रैछ। हो, पढ्नु त पर्छ। नपढ्ने भनेर पढ्न चाहने असल मनलाई निरुत्साहित गर्न चाहन्नँ। तर एसइइ, प्लस टुमा ल्याउने जिपिएले हामीले गर्न सक्ने-नसक्ने कुरा मापन गर्न सक्दैनन्। हाम्रो क्षमता रोक्न सक्दैनन्। हामी चाह्यौं भने आफूले चाहेको गन्तव्यमा मजाले पुग्न सक्छौं।
परीक्षा दिनुहुने सम्पुर्ण भाइबहिनीलाई आउँदै गरेको एसइइ परीक्षाको अग्रिम शुभकामना। अभिभावकहरूलाई पनि आफ्ना बालबच्चालाई बढी जिपिएका लागि दबाब नदिनुहुन हार्दिक आग्रह।